निषेधको राजनीति त्यागेर राजासहितको राष्ट्रिय सहमति निर्माण गर्नुपर्छ : राजेन्द्र लिङ्देन

डिसी नेपाल
२८ भदौ २०८३ १४:४८

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई विद्यमान राजनीतिक अनिश्चितताबाट निकास दिन निषेधको राजनीति त्यागेर राजासहितको राष्ट्रिय सहमति निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।

आइतबार काठमाडौंमा आयोजित राप्रपा काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देश लामो समयदेखि राजनीतिक तरलता र अनिश्चितताको अँध्यारो सुरुङभित्र प्रवेश गरेको बताए।

विगतमा भएका ठूला राजनीतिक परिवर्तन र विद्रोहपछि पनि जनताको जीवनस्तरमा सुधार नआएको र आशा जगाउन नसकिएको उल्लेख गर्दै उनले अब देशले थप द्वन्द्व र निषेधको राजनीति थेग्न नसक्ने दाबी गरे।

प्रमुख राजनीतिक दलहरू र राजाबीच नवीन समझदारी र राष्ट्रिय सहमति निर्माण नभएसम्म मुलुकले स्थायी निकास नपाउने दाबी गर्दै उनले आगामी मंसिर २६ देखि २८ गतेसम्म हुने पार्टीको महाधिवेशन केवल नेतृत्व चयन गर्ने प्रक्रिया मात्र नभई पार्टीको आगामी मार्गचित्र तय गर्ने र विगतका कमजोरी सच्याउने महत्त्वपूर्ण अवसर हुने उल्लेख गरे।

राप्रपाले आगामी महाधिवेशनलाई लक्षित गर्दै भदौ मसान्तभित्रै सबै जिल्ला अधिवेशन सम्पन्न गर्ने कार्यतालिका अनुसार संगठन सुदृढीकरणलाई तीव्रता दिइरहेको छ।

सम्बोधनका क्रममा अध्यक्ष लिङ्देनले पार्टीलाई आन्तरिक रूपमा बलियो र एकताबद्ध बनाउन नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिए। निर्वाचन जित्ने नाममा पार्टीका सांसद तथा जनप्रतिनिधिहरू अन्य दलको प्रभावमा पर्ने वा दलीय अनुशासन उल्लंघन गर्ने प्रवृत्ति कुनै पनि हालतमा स्वीकार्य नहुने उनले कडा चेतावनी दिए।

आफू अध्यक्ष पदमा रहँदा वा नरहँदा पनि पार्टी र कार्यकर्ताको शिर झुक्ने कुनै काम नगरेको दाबी गर्दै लिङ्देनले भ्रष्टाचारविरुद्धको आफ्नो अडानमा सधैँ दृढ रहने प्रतिबद्धता दोहोर्‍याए। काठमाडौं जिल्ला अधिवेशनका प्रत्यासीहरूलाई स्वस्थ र मर्यादित ढंगले लोकतान्त्रिक प्रक्रियामा भाग लिन उनले आग्रह गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *