हरितालिका तीज र प्राकृतिक विपद्को छाया: मौलिकता जोगाउने सन्देश
देशमा घटेको अकल्पनीय प्राकृतिक विपद्लाई मध्यनजर गर्दा यस वर्षको तीज खासै उल्लासजनक रहन सकेन। चीनको तिब्बत क्षेत्रबाट आएको जलप्रलयका कारण सिर्जित बाढी र विनाशले सिङ्गो देशलाई शोकमा डुबाएको छ।
भोटेकोशीमा आएको विध्वंसात्मक एवं प्रलयकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नारायणी तटीय क्षेत्रमा यत्रतत्र ठूलो सङ्ख्यामा मानवीय तथा भौतिक क्षति पुर्यायो। जुन त्रासदी हाम्रा आँखाले प्रत्यक्ष देखे, अनि हामी स्वयम् त्यसका प्रत्यक्षदर्शी पनि बन्यौँ।
हरितालिका तीज आफैंमा हिन्दु नारीहरूको महान् एवं पावन पर्व हो। नारीहरू घरदेखि माइतीसम्मको आत्मीयता र अपनत्वको भाव बोकेर परिवारजनसँग एकाकार हुने हाम्रो मौलिक परम्परा हो।
लोकभाका, लोकसंस्कृति र मौलिक सृजनाका माध्यमबाट आफूले देखेको, सुनेको र भोगेको दुःख, संघर्ष एवं कठोर बुहार्तनका विषयलाई जस्ताको तस्तै शब्दमा उतारेर वेदना, विरह अनि मनका आन्तरिक भावना पोखिने यो हाम्रो नितान्त मौलिक संस्कृति हो।
तर, २०८३ साल भदौ १० गते देशमा आइपरेको यो प्राकृतिक विपत्ति अत्यन्तै अकल्पनीय एवं भयावह रह्यो। समय र परिस्थितिले कतिपय अवस्थामा खुसीलाई सहजै स्वीकार नगर्दो रहेछ। चाडपर्वको सङ्घारमै आएको यो जलविपद्ले कतिका घरमा रोदन र क्रन्दन ल्यायो त कतिका घरमा खुसी खोसिदियो। त्यो पीडा सम्झँदा मात्रै पनि मन व्यथित र मर्माहत बन्न पुग्छ।
धार्मिक तथा सनातन दृष्टिले हरितालिका तीजको विशिष्ट महत्त्व रहेको छ। यो पर्व भाद्र शुक्ल तृतीयाका दिन मनाइन्छ। मुख्य रूपमा सौभाग्यवती विवाहित महिलाहरूद्वारा आफ्नो पतिको दीर्घायु र सुस्वास्थ्यका लागि यो व्रत बसिए पनि अविवाहित महिला तथा निष्ठावान् पुरुषहरूका लागि पनि उत्तिकै श्रेष्ठ मानिएको छ।
हरितालिका तीजमा भगवान् शिव, माता पार्वती एवं विघ्नहर्ता गणेशको निष्ठापूर्वक पूजा-आराधना गरिन्छ। यो व्रत निराहार र निर्जला रही रात्रिकालीन जाग्राम, नाचगान र खुसियाली साटासाट गर्दै हर्षोल्लासका साथ मनाउने शास्त्रीय मान्यता छ।
‘आलिभिः सखिभिः हरिता इति हरितालिका। अथवा सखिभिर्हरिता यस्मात् तेनेयं हरितालिका।’
अर्थात्, ‘हरित’ को अर्थ हरण गरिएको र ‘आलिका’ को अर्थ साथी (सखी) हुन्छ। पौराणिक प्रसङ्गअनुसार भाद्र शुक्ल तृतीयाका दिन पर्वतराज हिमालयकी पुत्री पार्वतीलाई पिताले श्रीविष्णुसँग विवाह गरिदिन लागेपछि उनलाई त्यसबाट जोगाउन सखीहरूले हरण गरेर गुप्त स्थानमा लुकाएका थिए।
सखीहरूद्वारा हरण गरिएकी हुनाले यस दिनलाई ‘हरितालिका’ भनिएको धार्मिक विश्वास छ। तिनै गुप्त स्थानमा माता पार्वतीले महादेवलाई पतिका रूपमा प्राप्त गर्न कठोर तपस्या गर्नुभयो। फलस्वरूप महादेव स्वयम् प्रकट भई पार्वतीको मनोकांक्षा पूर्ण गरिदिनुभएको धार्मिक कथन छ।
हरितालिकाको लोकप्रसिद्ध नाम ‘तीज’ हो। यो विशेष गरी नारीहरूको सांस्कृतिक र धार्मिक पर्व हो। धार्मिक रूपमा तीजअन्तर्गत उमामहेश्वरको पूजा गरी निराहार व्रत बस्ने र भोलिपल्ट विधिपूर्वक पारण गरेर भोजन ग्रहण गर्ने गरिन्छ।
यसका साथै तीजमा ‘दर’ का रूपमा विशेष परिकार ग्रहण गर्ने, गीत-सङ्गीतमा रमाउने र मनोरञ्जन गर्ने प्रचलन छ। यो पर्व नेपाल, भारतलगायत हिन्दुहरूको बसोबास रहेका विश्वका विभिन्न मुलुकमा श्रद्धाका साथ मनाइन्छ। तीजमा मीठामीठा परिकार आफैँले पकाएर आफन्त तथा चेलीबेटीलाई बोलाई आफ्नै मिहिनेतको फल बाँडेर खाने र खुवाउने सुखद परम्परा छ।
नेपाली समाजमा यस पर्वको ऐतिहासिक एवं सामाजिक महत्त्व निकै रोचक र जीवन्त छ। प्राचीनकालदेखि नै तीजलाई एकापसमा भेला हुने, सुखद् भेटघाटबीच स्वादिष्ट दर खाने, व्रत बसी सामूहिक पूजा गर्ने र नाचगानका माध्यमबाट आफ्ना दुःखसुख र पीरमर्का व्यक्त गर्ने उपयुक्त अवसरका रूपमा लिइँदै आइएको छ। यसले पारिवारिक एकता, पति-पत्नीबीचको सम्बन्धमा प्रगाढता र सामाजिक मेलमिलापको भावना जागृत गराउँछ।
तर, समसामयिक परिवेशमा तीजको मौलिक स्वरूप बिग्रँदै गएको देखिन्छ। केवल तडकभडक, भड्किलो फेसन, वर्गीय विभेद र हुँदाखाने तथा हुनेखानेबीचको असन्तुलन तीजका नाममा स्पष्ट झल्कन थालेको छ। यो आफैँमा विकृत प्रवृत्ति र गलत संस्कृति हो।
यस्ता भड्किला क्रियाकलापले चाडपर्वको आध्यात्मिक एवं सांस्कृतिक महत्त्वलाई घटाउँछ। यस्ता नकारात्मक र मिथ्या प्रवृत्तिको पछि लागेर चाडपर्वको पवित्रतालाई सङ्कुचित बनाउनु हुँदैन भन्नेमा हामी सबै सचेत हुन आवश्यक छ।
तसर्थ, कुनै पनि संस्कृतिको वास्तविक सुन्दरता र महत्त्व त्यसको सादगी एवं मौलिकतामा लुकेको हुन्छ। जब बाह्य हस्तक्षेप र तडकभडक हाबी हुन्छ, तब पर्वको आत्मिक मर्म स्वतः कमजोर बन्दछ। यसर्थ, विपद्को यो कठिन घडीमा मानवीय संवेदनालाई मनन गर्दै तीजलाई तडकभडरहित, सादगीपूर्ण र मौलिक ढङ्गले मनाउनु नै सच्चा धर्म र संस्कृति हुनेछ।
अन्त्यमा, देश-विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदीबहिनी तथा सम्पूर्ण मातृशक्तिमा हरितालिका तीज २०८३ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
No ads found for this position



Facebook Comment