एमाले निर्वाचन समीक्षा कार्यदल बैठक : विवाद चिर्दै एकीकृत प्रतिवेदन तयार पार्ने जिम्मा शीर्ष तीन नेतालाई

डिसी नेपाल
२९ भदौ २०८३ १४:१९

काभ्रेपलाञ्चोक। नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको दुई दिने आवासीय बैठक काभ्रेपलाञ्चोकको पनौतीकाे बल्थलीमा सम्पन्न भएको छ।

कार्यदलमा प्रस्तुत दुई फरक प्रतिवेदनका विषयलाई लिएर बाहिर आएका भ्रम र अडकलबाजीलाई चिर्दै बैठकले पार्टीको संगठनात्मक सुदृढीकरण, कार्यशैलीमा फेरबदल र आवश्यक पुनर्संरचनाका विषयमा गहन छलफल गरेको छ।

बैठकका क्रममा अध्यक्ष परिवर्तन वा नेतृत्व विस्थापनका सम्बन्धमा चलेका फिजुल हल्लाहरू निराधार रहेको स्पष्ट पार्दै पार्टीलाई नयाँ ढंगले पुनर्ताजगी दिने विषयमा सर्वसम्मति जनाइएको छ।

काभ्रेको बल्थलीमा सम्पन्न बैठकमा कार्यदलका संयोजक एवं पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र कार्यदलका सदस्य-सचिव एवं महासचिव शंकर पोखरेलद्वारा प्रस्तुत दुवै मस्यौदा प्रतिवेदन तथा बैठकमा सहभागी कार्यदलका सदस्यहरूले दिएका महत्त्वपूर्ण सुझावहरूमाथि विस्तृत छलफल भएको थियो।

साथै, बैठकले वर्तमान सरकारका अधिनायकवादी, फासिवादी तथा जनविरोधी गतिविधिको कडा प्रतिवाद गर्ने निर्णय गरेको छ। सरकारका गलत कदम विरुद्ध जनताको पक्षमा दृढ, एकताबद्ध र जुझारु संगठन निर्माण गर्दै जनपरिचालन गर्ने विषयमा समेत प्राप्त सुझावहरूलाई छलफलमा समेटिएको छ।

कार्यदलमा पेस भएका मस्यौदा प्रस्तावहरू र सदस्यहरूबाट प्राप्त रचनात्मक सुझावहरूलाई एकीकृत गरी प्रतिवेदनलाई अन्तिम रूप दिने जिम्मेवारी संयोजक कमरेड रामबहादुर थापा ‘बादल’, उपाध्यक्ष कमरेड विष्णु पौडेल र सदस्य-सचिव कमरेड शंकर पोखरेल सम्मिलित तीन सदस्यीय टोलीलाई दिइएको छ। शीर्ष नेताहरू सम्मिलित सो टोलीले तयार पार्ने एकीकृत प्रतिवेदन शीघ्र पार्टी केन्द्रीय कमिटी समक्ष पेस गरिने जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *