विपद् व्यवस्थापनका लागि ७ दिनभित्र सर्वदलीय संयन्त्र बनाउने सहमति

डिसी नेपाल
३१ भदौ २०८३ १४:१६

काठमाडौ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछिको उद्धार, राहत तथा पुनर्स्थापना र दीर्घकालीन नीतिगत सुधारका लागि आगामी सात दिनभित्र सर्वदलीय उच्चस्तरीय संयन्त्र गठन गर्ने सहमति भएको छ।

बुधबार रास्वपा सभापति रवि लामिछानेकाे पहलमा बसेको सर्वदलीय बैठकले संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई समावेश गरी उक्त संयन्त्र बनाउने निर्णय गरेको हो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा राष्ट्रिय सभा तथा प्रतिनिधि सभामा रहेका दलहरूको सिट संख्याका आधारमा प्रतिनिधित्व सुनिश्चित हुने गरी एक हप्ताभित्र संसदीय समिति गठनका लागि सभामुखलाई आग्रह गर्ने सहमति भएको छ।

यसअघि भदौ १० गते बाढी आएको भोलिपल्ट रास्वपा सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा यस्तो संयन्त्र वा संसदीय समिति बनाउने प्रस्ताव गरिएको थियो।

भदौ १६ को बैठकले सैद्धान्तिक सहमति जनाए पनि बुधबारको बैठकले संयन्त्र निर्माणका लागि ७ दिनको स्पष्ट समयसीमा तोकेको रास्पा सांसद एवं प्रवक्ता जगदीश खरेलले जानकारी दिए।

 संयन्त्रले संकटको समयमा मात्र नभई विपद्पूर्व तयारी, जलवायु अनुकूलन, राष्ट्रिय विपद् नीतिमा सुधार र सरकारका कामकारबाहीको अनुगमन तथा निरन्तर सल्लाह-सहयोग दिने गरी कार्य गर्नेछ।

बैठकमा प्रधानमन्त्री बालेन (बालेन्द्र) शाहको आगामी संयुक्त राष्ट्रसंघको महासभा (भ्रमण र उक्त अन्तर्राष्ट्रिय मञ्चलाई नेपालको विपद् संकट तथा जलवायु न्यायका पक्षमा कसरी प्रभावकारी रूपमा सदुपयोग गर्ने भन्नेबारे समेत छलफल भएको छ।

भोटेकोशी बाढी र त्यसले पारेको क्षतिबारे विश्व समुदायको ध्यानाकर्षण गराउन प्रधानमन्त्री शाहले राष्ट्रसंघमा नेपालको नेतृत्व गर्ने विषयमा दलहरूबीच साझा धारणा बनेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *