बजारमा ग्यास अभाव र महँगीबारे सरकारसँग सांसद बरालको जवाफ माग
काठमाडौं। नेकपा एमालेकी सांसद एशुदा कुमारी बरालले बजारमा खाना पकाउने ग्यासको तीव्र अभाव र बढ्दो महँगीबारे सरकारको ध्यानाकर्षण गराएकी छन्। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले ग्यास नपाएर सर्वसाधारण ठूलो समस्यामा परेको भन्दै यसतर्फ सरकार तत्काल जवाफदेही हुनुपर्ने बताइन्।
सम्बोधनका क्रममा सांसद बरालले बजारमा ग्यासको कृत्रिम अभाव हुनुको कारण, महँगी बढ्नुको आधार र जनताले भोग्नुपरेको सास्तीबारे सरकारले संसद्मा स्पष्ट पार्नुपर्ने माग गरिन्। ग्यास अभावका कारण जनता भोकमरीको स्थितिमा पुग्न लागेको उल्लेख गर्दै उनले दिनहुँ नागरिकहरूले आफूहरूसँग ग्यास मिलाइदिन गुहार गरिरहेको बताइन्।
यसैक्रममा, बजारमा ग्यास अभाव हुनुमा एमालेले ग्यास लुकाएको भन्दै सार्वजनिक भएका समाचारप्रति उनले कडा आपत्ति जनाइन्। यदि एमालेले ग्यास लुकाएको हो भने छानबिन गरी कारबाही गर्न चुनौती दिँदै उनले, अन्यथा भ्रामक समाचार फैलाउने मिडिया र त्यसरी लेखाउने पक्षमाथि कारबाही हुनुपर्ने धारणा राखिन्।
जनताका आधारभूत समस्याप्रति सरकार गम्भीर हुनुपर्नेमा जोड दिँदै सांसद बरालले बजारको वास्तविक अवस्था, अभावको कारण र समाधानका उपायबारे एक साताभित्र संसद्मा जानकारी गराउन सभामुखमार्फत सरकारलाई निर्देशन दिन माग गरिन्।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले जनताका दैनिक समस्याको जिम्मेवारी लिनुपर्ने भन्दै उनले नागरिकलाई ग्यास अभाव र भोकमरीको अवस्थामा नपुर्याउन सरकारको ध्यानाकर्षण गराइन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment