पार्टी एकता र १५ औं महाधिवेशनका लागि शेखर कोइरालाको पाँचबुँदे प्रस्ताव शतप्रतिशत स्वीकार : सभापति थापा

डिसी नेपाल
१ असोज २०८३ २०:०२

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले गत वर्षको घटना र असहज परिस्थितिबाट गुज्रिएर पार्टीलाई पुनः लयमा फर्काउन र बलियो बनाउन निरन्तर प्रयास भइरहेको बताएका छन्।

बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले १४ औं महाधिवेशन र विशेष महाधिवेशनबाट आएका नेता तथा सदस्यहरूलाई समेटेर पार्टीलाई एकीकृत रूपमा अगाडि बढाइएको बताए। बैठकको सुरुमा उनले भदौ २८ गतेको कार्यसम्पादन समितिको निर्णयअनुसार पहिलोपटक बैठकमा सहभागी भएका केन्द्रीय सदस्यहरूलाई स्वागतसमेत गरे।

गएको साल भदौ २३ र २४ गतेका अकल्पनीय घटनाहरूको स्मरण गर्दै सभापति थापाले त्यसले मुलुक र पार्टीको राजनीतिक जीवनमा गहिरो प्रभाव पारेको उल्लेख गरे। ‘नेपालको जननिर्वाचित सरकार पदच्युत भयो, संसद् भवन ध्वस्त भयो र हाम्रो पार्टी कार्यालयसहित नेताहरूको भौतिक शरीरमाथि नै आक्रमण भयो,’ उनले भने, ‘इतिहासमै पहिलोपटक बहालवाला प्रधानमन्त्रीले यसरी सरकार छाड्नुपर्ने स्थिति बन्यो। यो घटनाले पुराना राजनीतिक दलहरूको कार्यशैलीमाथि ठूलो प्रश्न उठाएको छ।’

निर्वाचनमा पार्टीले प्राप्त गरेको परिणाम अपेक्षाअनुसार नभए पनि कांग्रेसलाई समाप्त हुनबाट बचाउन र ‘भुइँभन्दा मुनिबाट’ यात्रा प्रारम्भ गरेर खरानीबाट पार्टीलाई उठाउने प्रयास भइरहेको उनको भनाइ थियो। कम्युनिष्ट पार्टीलगायत अन्य दलहरू पनि ठूलो मतबाट घटेर खुम्चिएको वर्तमान राजनीतिक यथार्थ औंल्याउँदै उनले पार्टीभित्रको असहमतिको कुरालाई स्वाभाविक रूपमा लिनुपर्ने बताए।

नेता डा. शेखर कोइराला र पूर्वउपकै कार्यवाहक सभापति पूर्णबहादुर खडासँग भएको संवादको प्रसंग कोट्याउँदै सभापति थापाले भने, ‘पार्टीभित्र बृहत्तर एकता निर्माण गर्न र आगामी १५ औं महाधिवेशनलाई व्यवस्थित बनाउन हामी गम्भीर छौं। डा. शेखर कोइरालाले अगाडि सार्नुभएको उच्चस्तरीय संयन्त्र बनाउने, छानबिन तथा निर्वाचन समितिमा सबै पक्षलाई समाविष्ट गर्ने र क्रियाशील सदस्यता अद्यावधिक गर्नेलगायतका प्रस्तावलाई पार्टीको हितमा शतप्रतिशत स्वीकार गरिसकेका छौं।’

पार्टीभित्र देखिएका वैचारिक भिन्नता र चुनौतीलाई चिर्दै कांग्रेसलाई एकताबद्ध रूपमा अगाडि बढाउन र राष्ट्रको मुद्धामा स्पष्ट दृष्टिकोणसहित उभिन सबै नेता तथा कार्यकर्ताहरू जिम्मेवार बन्नुपर्नेमा उनले जोड दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *