साझा बसमा डिजिटल टिकटिङ सुरु : असोज ३ देखि रात्रि बस सेवा विस्तार, ललितपुरमा पर्यटकलाई निःशुल्क सटल बस चलाइने
काठमाडौं। साझा यातायातले आफ्नो सेवालाई प्रविधिमैत्री बनाउँदै ‘डिजिटल टिकटिङ तथा कमाण्ड एण्ड कन्ट्रोल सेन्टर’ सञ्चालनमा ल्याएको छ। बिहीबार आयोजित विशेष समारोहमा काठमाडौं महानगरपालिकाकी कार्यवाहक नगरप्रमुख सुनिता डंगोल र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले संयुक्त रूपमा सेवाको शुभारम्भ गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं महानगरपालिकाकी कार्यवाहक नगरप्रमुख डंगोलले आगामी संविधान दिवस (असोज ३ गते) देखि उपत्यकामा रात्रि बस सेवा विस्तार गरिने घोषणा गरिन्। गत वैशाख १ गतेदेखि काठमाडौं, ललितपुर, चन्द्रागिरि र बुढानीलकण्ठ गरी चार पालिकाको सहकार्यमा सुरु गरिएको दुईवटा रुटको रात्रि सेवा अब ६ वटा रुटमा सञ्चालन हुने उनले बताइन्।
‘पहिलो ९० दिनको परीक्षणमा ६७ हजारभन्दा बढी यात्रुले रात्रि सेवा लिनुभएको छ। अब भक्तपुर, सूर्यविनायक र गोदावरी लगायतका पालिकाहरूलाई समेटेर ६ वटा रुटमा रात्रि बस सेवा विस्तार गर्दैछौँ,’ डंगोलले भनिन्। परीक्षणकालमा करिब १० लाख रुपैयाँ घाटा देखिएको उल्लेख गर्दै उनले राजस्व चुहावट (लिकेज) नियन्त्रण गर्न डिजिटल भुक्तानी प्रणाली कोशेढुङ्गा साबित हुने विश्वास व्यक्त गरिन्।
त्यसैगरी, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पर्यटन प्रवद्र्धनका लागि दसैँअगावै सम्पदा क्षेत्रमा निःशुल्क विद्युतीय ’सटल बस’ सञ्चालन गर्ने तयारी भएको जानकारी दिए। पुल्चोक तथा पाटनढोकाबाट सुरु भई पाटन दरबार स्क्वायर, महाबौद्ध, लगनखेल हुँदै घुम्ने गरी वातावरणमैत्री हरियाली बस चलाउन लागिएको उनले बताए।
‘पाटन दरबार स्क्वायर आउने पर्यटक, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरी यो विद्युतीय सटल बस पूर्णतः निःशुल्क सञ्चालन गरिनेछ,’ महर्जनले भने। यसका साथै ललितपुर महानगरपालिकाले वातावरण प्रदूषण न्यूनीकरणका लागि अब उप्रान्त कुनै पनि जीवाश्म इन्धन (डिजेल/पेट्रोल) बाट चल्ने सवारी साधन खरिद नगर्ने नीतिगत निर्णय गरेको समेत उनले स्पष्ट पारे।
सार्वजनिक यातायातलाई व्यवस्थित, आधुनिक र प्रदूषणमुक्त बनाउन उपत्यकाका स्थानीय तहहरू साझा यातायातसँग दीर्घकालीन सहकार्य गर्न प्रतिबद्ध रहेको दुवै नगरप्रमुखले बताए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment