धादिङ र नुवाकोटमा विद्युत् सेवा पूर्ण सुचारु, रसुवाको ९० प्रतिशत क्षेत्रमा बल्यो बिजुली

डिसी नेपाल
२ असोज २०८३ १०:४६

काठमाडौं। सरकारले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रहरूमा विद्युतीकरण पुन:स्थापनाको कामलाई तीव्रता दिएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार बाढीका कारण विद्युतीय पूर्वाधारमा क्षति पुगेर सेवा अवरुद्ध भएका रसुवा, नुवाकोट र धादिङमा बाढी आएको भोलिपल्टदेखि नै मर्मत तथा पुन: विद्युतीकरणको काम अगाडि बढाइएको थियो।

मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यले धादिङ र नुवाकोटका सम्पूर्ण क्षेत्रमा विद्युत् सेवा पूर्ण रूपमा सुचारु भइसकेको जानकारी दिए।

नुवाकोटमा गत भदौ २४ गते नै सबै क्षेत्रमा विद्युत् सेवा सञ्चालनमा आइसकेको थियो भने धादिङमा त्योभन्दा अघि नै सबै स्थानमा बिजुली आपूर्ति पुन: मिलाइएको थियो।

यसैगरी, बाढीबाट सबैभन्दा बढी प्रभावित बनेको रसुवा जिल्लाको ९० प्रतिशत भूभागमा विद्युत् पुर्‍याइसकिएको छ। उत्तरगया गाउँपालिकाको वडा नं. १ तथा गोसाइँकुण्ड गाउँपालिकाको वडा नं. १, २ र ३ बाहेक जिल्लाका अन्य सम्पूर्ण क्षेत्रमा विद्युत् सेवा सुचारु भइसकेको प्रवक्ता शाक्यले बताए।

राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुग्न बाँकी रहेका दुर्गम क्षेत्रहरूमा भने वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत संस्थागत तथा घरेलु सौर्य (सोलार) प्रणाली जडान गरी क्रमशः विद्युत् सेवा उपलब्ध गराइँदै लगिएको मन्त्रालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *