कांग्रेसका कार्यवाहक जिल्ला सभापति र क्षेत्रीय सभापतिद्वारा राजीनामा
सर्लाही । नेपाली कांग्रेस सर्लाही जिल्ला कार्यसमितिका कार्यवाहक सभापति सरोजकुमार र क्षेत्र नम्बर २ (ख) का क्षेत्रीय सभापति भिखारी ठाकुरले पार्टीको साधारण सदस्यसमेत नरहने गरी पदबाट राजीनामा दिएका छन्। उनीहरू दुवै जनाले केन्द्रीय सभापतिलाई सम्बोधन गर्दै राजीनामापत्र पठाएका हुन्।
सर्लाही निर्वाचन क्षेत्र नम्बर २ मा क्रियाशील सदस्यता वितरण तथा नवीकरण प्रक्रियामा ठूलो अनियमितता र धाँधली भएको आरोप लगाउँदै उनीहरूले असन्तुष्टि जनाएका छन्। राजीनामापत्रमा कार्यवाहक सभापति सरोजकुमारले सदस्यता वितरणमा लोकतान्त्रिक मूल्य, मान्यता र विधिको पालना नभएको तथा पार्टी संस्थापक नेताहरूको आदर्शबाट नेतृत्व विचलित भएको दाबी गरेका छन्।
स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेका व्यक्तिहरूलाई कारबाही गर्नुको सट्टा उल्टै क्रियाशील सदस्यता प्रदान र नवीकरण गरिएको भन्दै उनले आक्रोश व्यक्त गरेका छन्। यस्ता गतिविधिले इमानदार कार्यकर्ताको भावनामा गम्भीर चोट पुगेकाले पार्टीका सबै जिम्मेवारीबाट अलग हुने निर्णय गरेको उनको भनाइ छ।
यसैगरी, क्षेत्रीय सभापति भिखारी ठाकुरले पनि क्षेत्र नं. २ (ख) मा पूर्वाग्रह राखेर क्रियाशील सदस्यताको नामावलीमा धाँधली गरिएकाले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको घोषणा गरेका छन्। दुवै नेताले आफ्नो राजीनामा तत्काल स्वीकृत गर्न केन्द्रीय सभापतिसँग आग्रह गरेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment