काठमाडौं उपत्यकामा रात्रिकालीन साझा बस विस्तार : अब ६ रुटमा २८ विद्युतीय बस सञ्चालन हुने
काठमाडौं । काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायातको पहुँच बढाउने उद्देश्यका साथ साझा यातायातले आफ्नो सेवा विस्तार गर्ने भएको छ।
संविधान दिवसको अवसर पारेर शनिबारदेखि थप पाँच रुटमा विद्युतीय बस थप्दै कुल ६ वटा रुटमा २८ वटा बस सञ्चालन गर्न लागिएको हो।
गत वैशाख १ गतेदेखि नागढुंगा–एयरपोर्ट र लगनखेल–बुढानीलकण्ठ गरी दुई रुटमा सात वटा बसमार्फत सुरु गरिएको रात्रिकालीन सेवालाई यात्रुको मागअनुसार व्यापक बनाउन लागिएको साझा यातायातका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भूपेन्द्र अर्यालले जानकारी दिए।
नयाँ व्यवस्थाअनुसार चक्रपथ परिक्रमाका लागि दुवैतर्फ गरी आठ वटा बस सञ्चालन हुनेछन्, जसले उपत्यकाका मुख्य-मुख्य क्षेत्रलाई रात्रिकालीन सेवासँग जोड्न सहज बनाउनेछ।
त्यसैगरी बुढानीलकण्ठ–गोदावरी रुटमा छ, जगाती–रत्नपार्क–ठमेल रुटमा छ, विमानस्थल–नागढुंगा रुटमा चार र कीर्तिपुर–जमल रुटमा चार वटा विद्युतीय बस सञ्चालन हुनेछन्। साविकको लगनखेल–बुढानीलकण्ठ रुटमा भने तीन वटा बसले सेवा दिनेछन्।
रात्रिकालीन busहरू सम्बन्धित प्रस्थानबिन्दुबाट बेलुका ८ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ। यात्रुको चाप र आवश्यकताका आधारमा बसको संख्या तथा सेवा समय समायोजन गर्दै लैजाने योजना साझा यातायातको छ।
उपत्यकामा रातको समयमा सार्वजनिक सवारी साधनको उपलब्धता निकै कम हुने गरेकाले यो सेवा विस्तारबाट अबेरसम्म काम गर्ने कर्मचारी, व्यवसायी, विद्यार्थी, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई आवतजावतमा ठूलो राहत पुग्नेछ। साथै विद्युतीय बस प्रयोग हुने भएकाले रात्रिकालीन यातायातको पहुँच विस्तारसँगै वातावरणीय प्रदूषण न्यूनीकरणमा समेत सहयोग पुग्ने विश्वास लिइएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment