सवारी दुर्घटनामा चार जनाको मृत्यु

डिसी नेपाल
३ असोज २०८३ २१:१२

काठमाडौं । काठमाडौं, बारा, चितवन र सुनसरीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ। शुक्रबार दिउँसो र राति भएका यी दुर्घटनाहरूमा परी गम्भीर घाइते भएका तीन जनाको उपचारका क्रममा र एक जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

काठमाडौं महानगरपालिका–३२ स्थित मनोहरा पुल नजिकै बा.प्र.–०३–००१ क ०६१५ नम्बरको ट्याङ्करले बा.९३ प ७६७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा भक्तपुर सल्लाघारी बस्ने ३९ वर्षीया उर्मिला कार्की कँडेलको घटनास्थलमै मृत्यु भएको छ। काभ्रे तेमाल गाउँपालिका–८ घर भएकी उनी मोटरसाइकलमा सवार थिइन्। दुर्घटनापछि ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बाराको महागढीमाई नगरपालिका–२ इनर्वा चोकमा इनर्वाबाट कलैयातर्फ जाँदै गरेको बिआर ०५ बिभि ४१७६ नम्बरको भारतीय मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा ३३ वर्षीय चालक जामुन प्रसाद यादवको मृत्यु भएको छ। गम्भीर घाइते यादवको पर्सास्थित वीरगञ्ज न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

चितवनको खैरहनी नगरपालिका–८ चौबिसकोठी चोकमा ना.१ क ५०९९ नम्बरको मिनी ट्रक र ना.१८ प ५६१२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा खैरहनी–४ का २७ वर्षीय मोटरसाइकल चालक राजेश भुजेलको मृत्यु भएको छ। पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा उनको ज्यान गएको हो। मिनी ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सुनसरीको इटहरी उपमहानगरपालिका–१२ मा प्र.१–०२–०४७ प २९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ५६ वर्षीय साइकलयात्री जीवन दर्जीको मृत्यु भएको छ। गम्भीर घाइते दर्जीको विराटनगरस्थित विराट मेडिकल कलेज टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अर्का एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने प्रहरीले चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान बढाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *