एनएसजेएफ गण्डकीलाई प्रदेशस्तरीय मिडिया कप फुटसलको उपाधि
कास्की। पोखरा रङ्गशाला सञ्चालन भएको गण्डकी प्रदेशस्तरीय मिडिया कप फुटसल प्रतियोगिताको उपाधि नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) गण्डकीले जितेको छ।
पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आज सम्पन्न फाइनल खेलमा नेपाल पत्रकार महासङ्घ बागलुङलाई २–० गोलले पराजित गरी एनएसजेएफले उपाधि हात पारेको हो। च्याम्पियन गण्डकीले उपाधिसहित नगद रु ५० हजार शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
उपविजेता बनेको बागलुङले नगद रु ३० हजार शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। बागलुङका रोहन जिसी सर्वाेत्कृष्ट खेलाडी घोषित भई नगद रु पाँच हजार प्राप्त गरे। प्रतियोगिताको सर्वाेत्कृष्ट प्रशिक्षक गण्डकीकै धनबहादुर गुरुङ घोषित भएर नगद रु पाँच हजार पाए।
प्रतियोगिताको सर्वाेत्कृष्ट प्रशिक्षक र खेलाडीलाई एडभेन्चर पार्टनर गो बन्जीमार्फत फ्लाई कुपनसमेत प्रदान गरिएको छ।
प्रतियोगिताका विजेता टिम र खेलाडीलाई गण्डकी विश्वविद्यालयका उपकुलपति डा कृष्णराज अधिकारीले पुरस्कार प्रदान गर्दै मिडियाकर्मीले खेलमार्फत स्वास्थ्य र भाइचाराको सन्देश दिन खोजेको भन्दै प्रशंसा गरे। उनले गण्डकी विश्वविद्यालयले पनि खेल व्यवस्थापनको अध्यापन गराइरहेको जनाउँदै आगामी शैक्षिकसत्रदेखि फुटसललाई पाठ्यक्रममा समेट्ने योजना रहेको उल्लेख गरे।
प्रतियोगितामा नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष माधव बराल, नेपाल पत्रकार महासङ्घ बागलुङका अध्यक्ष राम थापा लगायतले प्रतियोगिताले सञ्चारकर्मीका बीचमा भाइचारा र खेल विकासमा सहयोग पुगेको बताए।
आयोजक नयाँ लिपि मिडियाका अध्यक्ष सुरज श्रेष्ठले प्रतियोगितालाई सफल पार्न पत्रकार र पत्रकार आबद्ध संस्थाहरूको सहयोगप्रति धन्यवाद दिँदै आगामी वर्षमा निरन्तरता दिइने बताए।
“प्रतियोगिताको उद्देश्य खेल्नु मात्र नभएर संस्थालाई मानवीय सेवामा जोड्नु पनि हो। आर्जित मुनाफा भोटेकोशी बाढीबाट प्रभावितको हितमा खर्च गरिनेछ”, श्रेष्ठले भने।
यही असोज २ गतेदेखि सुरु भएको प्रतियोगितामा गण्डकी प्रदेशका चार टोलीको सहभागिता थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment