डोनाल्ड ट्रम्पले एआई फोर्स बनाउने
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार एक नयाँ आर्टिफिसियल इन्टेलिजेन्स सल्लाहकार अर्थात् ‘एआइ जार’ नियुक्त गर्ने र एक ‘एआइ फोर्स’ गठन गर्ने योजना बनाएको बताएका छन्। यद्यपि, उनले यसको संरचना कस्तो हुनेछ र यसलाई कसरी कार्यान्वयन गरिनेछ भन्नेबारे भने केही खुलाएका छैनन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गर्दै यसको घोषणा गरेका हुन्। प्रशासनले एआइ उद्योगको विकासमा सहयोग गर्नुका साथै यसको दुरुपयोग वा गलत कार्यहरूसँग जुध्न विद्यमान आपराधिक न्याय प्रणालीको प्रयोग गर्ने उनको भनाइ छ।
ट्रम्पले आफू कुनै पनि हालतमा एआइ उद्योगको विकासमा बाधा नपुर्याउने वा यसमाथि प्रतिबन्ध नलगाउने बताएका छन्। उनले यसलाई अझ प्रवर्द्धन गर्ने, सहयोग पुर्याउने र यसको विस्तारमाथि निगरानीसमेत राख्ने स्पष्ट पारेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यो घोषणा बिहीबार चिनियाँ राष्ट्रपति शी जिनपिङसँग हुने उनको बैठकअघि आएको हो। अमेरिका र चीनबीच एआइ क्षेत्रमा अगाडि बढ्ने तीव्र प्रतिस्पर्धा चलिरहेको छ। दुवै देशले आफ्नो आर्थिक तथा सैन्य क्षमताका लागि एआइलाई अत्यन्त महत्त्वपूर्ण मान्छन्।
ट्रम्प र प्रविधि कम्पनीका अधिकारीहरूका अनुसार एआइ माथि अत्यधिक नियमन लगाउनाले अमेरिकाको विकास सुस्त हुनसक्छ। साथै, यसले गर्दा चिनियाँ कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न कठिन हुने उनीहरूको बुझाइ छ। यद्यपि, एआइ सुरक्षा विज्ञहरूले भने यस विचारप्रति असहमति जनाएका छन्।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टको आइतबार न्युयोर्कस्थित जेपी मोर्गन चेसको मुख्यालयमा चीनका भाइस प्रिमियर हे लिफेङसँग भेटवार्ता हुँदैछ। प्राप्त जानकारीअनुसार यस बैठकमा एआइ सुरक्षा, व्यापार तथा अन्य आर्थिक मुद्दाहरूमा छलफल हुनसक्छ।
अमेरिकी सांसदहरू र प्रविधि विज्ञहरूमा एआइबाट हुनसक्ने सम्भावित जोखिमहरूलाई लिएर चिन्ता बढिरहेका बेला ट्रम्पको यो घोषणा आएको हो। यसै महिनाको सुरुमा एन्थ्रोपिकका पूर्व अनुसन्धानकर्ता ज्याकब कक्सनले एआइ विकासकर्ताहरू स्वयं नै यो आउँदो दशकमा मानव अस्तित्वकै लागि खतरा बन्नसक्छ भन्नेमा विश्वास गर्छन् भनी स्पष्ट रूपमा बताएका थिए। यद्यपि, ट्रम्पले एआइ सँग जोडिएका चिन्ताहरूलाई पटक-पटक कम आकलन गर्दै यसमाथि धेरै नियमनको आवश्यकता नरहेको तर्क गर्दै आएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment