डोनाल्ड ट्रम्प अचानक विदा रद्द गरेर ह्वाइट हाउस फर्किए

डिसी नेपाल
४ असोज २०८३ १०:२८

काठमाडौं । पश्चिम एसियामा पुनः तनाव बढेको र इरान तथा अमेरिकाबीच कुराकानीलाई लिएर उत्पन्न गतिरोधका बिच सो क्षेत्रमा सैन्य गतिविधिहरू पनि तीव्र बनेको विज्ञहरूको भनाइ छ। इरानले वासिङ्टनसमक्ष युद्ध अन्त्य गर्नका लागि सात वटा सर्त राखेको र मागहरू पूरा नगरिए ‘निर्णायक युद्ध’ का लागि तयार रहन चेतावनी दिएको बताइएको छ।

इरानका सुरक्षा प्रमुख मोहसेन रेजाईले अल जजिरासँग कुरा गर्दै इरान मध्यस्थकर्ता कतारको सम्पर्कमा रहेको र कतारले युद्ध समाप्त गर्ने उद्देश्यले आफ्ना सर्तहरू वासिङ्टनसमक्ष पुर्‍याइदिएको उनको भनाइ छ।

उनले इरान राष्ट्रपति डोनाल्ड ट्रम्पको जबाफको पर्खाइमा रहेको उल्लेख गर्दै इरानका सर्तहरूमा सबै मोर्चामा युद्ध समाप्त गर्ने, उसका रोक्का (फ्रिज) गरिएका कोषहरू फुकुवा गर्ने र नौसैनिक नाकाबन्दी अन्त्य गर्ने विषय समावेश रहेको बताएका छन्।

यी सर्तहरू स्वीकार गर्नु वासिङ्टनकै हितमा रहेको भन्दै रेजाईले ट्रम्पका धम्कीहरू प्रभावहीन रहेको र इरान निर्णायक युद्धका लागि तयार रहेको दाबी गरेका छन्। इरानका तर्फबाट यो अभिव्यक्ति आएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प शनिबार साँझ क्याम्प डेभिडबाट ह्वाइट हाउस फर्किएको बताइएको छ।

ट्रम्पले त्यहाँ रात बिताएपछि आफ्नो सप्ताहान्त (वीकेन्ड) बसाइ छोट्याएर काममा फर्कने निर्णय गरेको उनीहरूको भनाइ छ। यसैबिच, पश्चिम एसियामा अमेरिकी कूटनीतिक नियोगहरूका लागि उच्च सुरक्षा सतर्कता (हाई सेक्युरिटी अलर्ट) जारी गरिएको छ।

अमेरिकाले इराक, बहराइन, ओमान, सउदी अरब, इरान, कतार, लेबनान, कुवेत र जोर्डनमा रहेका अमेरिकीहरूलाई सावधानी अपनाउन सल्लाह दिएको बताइएको छ। अमेरिकी चेतावनीमा इरान समर्थित हुतीहरू नागरिक विमानस्थलसहित सउदी अरबविरुद्धका सैन्य गतिविधिमा संलग्न रहँदै आएको र यो सैन्य सङ्घर्ष तीव्र गतिमा बढ्न सक्ने उनीहरूको ठहर छ।

सो क्षेत्रबाट आउजाउ गर्ने अमेरिकीहरूलाई विमानस्थल र एअरलाइन्सका सञ्चालनसँग सम्बन्धित सूचनामाथि नजर राख्न सल्लाह दिइएको बताइएको छ। अमेरिकाले मध्य पूर्वबाहिर पनि अमेरिकी कूटनीतिक प्रतिष्ठानहरूलाई निशाना बनाइएको उल्लेख गर्दै इरान र इरान समर्थक समूहहरूले विश्वभरका अमेरिकी हित वा अमेरिकासँग जोडिएका स्थलहरूलाई निशाना बनाउन सक्ने उसको दाबी छ।

यसैबिच, ‘रसिया टुडे’ ले बेलायतको एक एअरबेसबाट अमेरिकी बमवर्षक विमान पश्चिम एसियाका लागि प्रस्थान गरेको जनाएको छ भने इरानको ‘प्रेस टिभी’ ले उत्तर-पूर्वी सिरियाको अल-हसाकामा रहेको खाराब अल-जिर बेस नजिकै एअर डिफेन्स गतिविधि देखिएको बताएको छ।

सो क्षेत्रमा तनाव बढ्नुको अर्को कारण सउदी अरब र इरान समर्थित हुतीहरूबीच बढेको सैन्य भिडन्त रहेको उनीहरूको भनाइ छ। सउदी अरबले इरान समर्थित हुती विद्रोहीहरूले ब्यालिस्टिक मिसाइलमार्फत रियादलाई निशाना बनाउने प्रयास गरेको भए पनि आफ्नो सेनाले प्रहार हुनुअघि नै मिसाइल रोकेको दाबी गरेको छ।

हुतीहरूले भने आफूहरूले “संवेदनशील ठाउँहरू” लाई निशाना बनाएको बताए पनि कुन-कुन स्थान निशानामा थिए भन्ने स्पष्ट पारेका छैनन्। सउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानले ‘यदि आफूहरूलाई यमनका निर्दोष जनताको चिन्ता नभएको भए एकै सातामा जित हासिल गरी हुतीहरूको सफाया गरिसक्ने’ बताएको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *