इरानले अमेरिकासँग राख्यो ७ शर्त, पूरा नभए निर्णायक युद्ध

डिसी नेपाल
४ असोज २०८३ १०:४०

काठमाडौं । इरानले अमेरिकासँग जारी द्वन्द्व अन्त्यका लागि वार्ताका सातवटा सर्तहरू सार्वजनिक गरेको छ। कतारमार्फत अमेरिकासम्म पुर्‍याइएका यी सर्तहरू नमानिए तेहरान निर्णायक युद्धका लागि पूर्ण रूपमा तयार रहेको चेतावनीसमेत इरानले दिएको छ।

इरानका सर्तहरूमा सबै मोर्चाहरूमा युद्ध अन्त्य गरिनुपर्ने, रोक्का गरिएका इरानी कोषहरू फुकुवा गरिनुपर्ने तथा समुद्री नाकाबन्दी हटाइनुपर्ने मुख्य मागहरू समावेश छन्। इरानको सुप्रिम नेशनल सेक्युरिटी काउन्सिलका सचिव मोहसिन रेजाईले कतारले इरानका सर्तहरू अमेरिकासम्म पुर्‍याइसकेको र अब इरान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रतिक्रियाको पर्खाइमा रहेको जानकारी दिएका छन्।

प्राप्त विवरणअनुसार, रेजाईले आफूहरू कतारको निरन्तर सम्पर्कमा रहेको र ट्रम्पको जवाफ पर्खिरहेको बताए। उनले सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट गर्दै अमेरिकासँग वार्ता सुरु गर्नका लागि यी सात सर्तहरू अघि सारिएको र इरानको अडान पूर्ण रूपमा स्पष्ट रहेको उल्लेख गरेका छन्।

रेजाईका अनुसार यी सर्तहरू स्वीकार गर्नु नै अमेरिकाको हितमा हुनेछ। ट्रम्पको धम्कीले कुनै परिणाम ननिस्कने उल्लेख गर्दै उनले इरान निर्णायक युद्धका लागि पनि तयार रहेको स्पष्ट पारे।

गत महिना एक सम्झौता (एमओयु) को समयावधि समाप्त भएदेखि इरान र अमेरिकाबीच पुनः वार्ता वातावरण बनाउन कतार र पाकिस्तानले प्रयास गरिरहेका छन्।

तेहरान जुनसुकै परिस्थितिको सामना गर्न तयार रहेको र आफ्नो सैन्य रणनीतिमा समेत परिमार्जन गरिसकेको रेजाईले दाबी गरे। यसैक्रममा इरानले हालै एक अमेरिकी जहाज वा विमानवाहक जहाज (एयरक्राफ्ट क्यारियर) नजिकै मल्टी-वारहेड एन्टी-शिप मिसाइलको परीक्षण गरेको दाबीसमेत उनले गरेका छन्।

यसैबीच, इरानका सुरक्षा प्रमुखले आगामी दिनमा इरानका तर्फबाट हुने कुनै पनि जवाफी कारबाही व्यापक स्तरको हुने चेतावनी दिएका छन्। युद्ध चाँडै अन्त्य हुनसक्छ कि सक्दैन भन्ने प्रश्नमा उनले व्यावहारिक रूपमा युद्ध अझै जारी रहेको स्पष्ट पारे। साथै, तेहरान द्वन्द्वलाई चाँडोभन्दा चाँडो अन्त्य गर्ने लक्ष्यसहितको रणनीतिमा काम गरिरहेको पनि उनले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *