क्यारिबियन सागरमा अमेरिकी सेनाको कारबाही: लागुऔषध तस्करीको आशंकामा डुंगामाथि आक्रमण, ४ जनाको मृत्यु

डिसी नेपाल
४ असोज २०८३ १०:११

वासिङ्टन डीसी । ल्याटिन अमेरिकामा लागुऔषध तस्करीविरुद्ध ट्रम्प प्रशासनले सञ्चालन गरिरहेको कडा अभियानअन्तर्गत अमेरिकी सेनाले क्यारिबियन सागरमा अर्को सैन्य कारबाही गरेको छ। लागुऔषध ओसारपसारमा प्रयोग भएको आशङ्कामा शनिबार एउटा डुङ्गालाई लक्षित गरी गरिएको आक्रमणमा परी चार जनाको मृत्यु भएको छ।

अमेरिकी दक्षिणी कमाण्ड (युएस सदर्न कमाण्ड) ले तस्करहरूले प्रयोग गर्ने समुद्री मार्गमा उक्त कारबाही गरिएको पुष्टि गरेको छ।

कमाण्डले सामाजिक सञ्जाल ‘एक्स’  मा एउटा भिडियो जारी गर्दै समुद्रमा तीव्र गतिमा अघि बढिरहेको डुङ्गा र आक्रमणपछिको विस्फोटनको दृश्य सार्वजनिक गरेको छ। यद्यपि, आक्रमण गरिएको उक्त डुङ्गामा लागुऔषध नै थियो भन्ने स्पष्ट प्रमाण भने सेनाले अझै सार्वजनिक गरिसकेको छैन।

ट्रम्प प्रशासनले ‘नार्को-आतंकवादी’ समूहविरुद्ध अभियान सुरु गरेयता पूर्वी प्रशान्त महासागर र क्यारिबियन क्षेत्रमा हालसम्म ६९ वटा यस्ता आक्रमण भइसकेका छन्। यी कारबाहीहरूमा परेर ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा २३१ पुगेको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा अवैध लागुऔषधको प्रवाह र यसका कारण हुने मानवीय क्षति रोक्न ल्याटिन अमेरिकी गिरोहविरुद्ध ‘सशस्त्र द्वन्द्व’ अनिवार्य रहेको भन्दै सैन्य कदमको निरन्तर बचाउ गर्दै आएका छन्। यसैक्रममा ट्रम्प प्रशासनले ल्याटिन अमेरिकी देशहरूसँग सहकार्य गर्दै स्थलगत सैन्य कारबाहीसमेत विस्तार गर्ने रणनीति लिएको छ।

अमेरिकी रक्षामन्त्री पिट हेगसेथले पानामा भ्रमणका क्रममा कोलम्बिया, ग्वाटेमाला र होन्डुरससँग संयुक्त सैन्य कारबाहीका लागि सहमति भइसकेको दाबी गरेका थिए, यद्यपि ग्वाटेमालाले भने यस्तो सम्झौताको खण्डन गरेको छ। अर्कातर्फ, इक्वेडरले भने गत मार्चदेखि नै अमेरिकासँग मिलेर यस्ता अभियानहरू सञ्चालन गर्दै आएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *