‘टनेल-२६’ को प्रचारप्रसारका लागि १६ सदस्सीय भुटानी टोली नेपालमा

डिसी नेपाल
५ असोज २०८३ १४:४१

काठमाडौं। आगामी असोज २३ गतेदेखि नेपालभर प्रदर्शनमा आउन लागेको बहुप्रतीक्षित हरर फिल्म ‘टनेल-२६’ को प्रचारप्रसारका लागि भुटानी निर्माण टोली नेपाल आइपुगेको छ।

फिल्मका निर्माता तथा कलाकार साङ्गे छेल्ट्रिमको नेतृत्वमा १६ सदस्सीय टोली सोमबार बिहान काठमाडौँ अवतरण गरेको हो। टोलीका थप ५ जना सदस्यहरू पनि शीघ्र नेपाल आउने कार्यक्रम रहेको छ।

नेपाल, भुटान र भारतको संयुक्त सहकार्यमा निर्माण भएको जम्बी हरर फिल्म ‘टनेल-२६ : द कर्स बिनिथ द माउन्टेन’ को मङ्गलवार एक विशेष समारोहका बीच ट्रेलर सार्वजनिक गरिँदै छ। सोही कार्यक्रममा सहभागी हुन भुटानी निर्माण पक्ष, प्राविधिक तथा कलाकारहरूको टोली नेपाल आइपुगेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै साङ्गे छेल्ट्रिम फिल्मको नेपाली प्रदर्शनलाई लिएर निकै उत्साहित सुनिए। उनले ‘टनेल-२६’ हलिउड र बलिउडको स्तरमा तयार पारिएको दाबी गरे।

“हामी निकै उत्साहित छौँ। एक वर्षभन्दा बढीको कडा मेहनतपछि यो फिल्म बनेको हो,” उनले भने, “ट्रेलर निकै उत्कृष्ट बनेको छ। नेपाल र भुटानको यो सहकार्यले अन्तर्राष्ट्रिय स्तरमै पहिचान बनाउने निश्चित छ। हामीले हलिउड र बलिउडका फिल्मलाई टक्कर दिने गरी यसको निर्माण गरेका छौँ।”

फिल्मका लेखक, निर्देशक तथा सम्पादक डीडी किन्लेले पनि फिल्मको प्रदर्शनलाई लिएर आफूहरू आशावादी रहेको बताए। “फिल्म हाल अन्तिम चरणमा छ। दर्शकको प्रतिक्रिया कस्तो आउँछ भनेर हामी रोमाञ्चित छौँ। यस्ता अन्तर्राष्ट्रिय सहकार्यले दुवै देशका सिनेमा क्षेत्रलाई फाइदा पुग्नेछ,” उनले भने।

फिल्ममा भुटानी अभिनेता साङ्गे छेल्ट्रिम, नेपाली अभिनेता अनुपविक्रम शाही, आना शर्मा, निदुप दोर्जी, डेकी लामो, फुन्टशोक धोन्डेन र रोशनी दादाको मुख्य भूमिका रहेको छ।

चौधरी ग्रुपका निर्माण चौधरी र अभिनेता प्रदीप खड्काको सहस्वामित्व रहेको ‘पिक एक्सभी स्टुडियोज’, साङ्गे छेल्ट्रिम फिल्म्स, भारतीय फिल्ममेकर प्रशान्त कुमार गुप्ता तथा दोर्जी वाङ्चुकलगायतका निर्माताहरूको संयुक्त लगानीमा यो फिल्म निर्माण भएको हो। फिल्ममा दोर्जी वाङ्चुक कार्यकारी निर्माता र प्रदीप खड्का क्रिएटिभ प्रोड्युसरका रूपमा रहेका छन्।

भुटानको शाही सरकारअन्तर्गतको मिडिया, क्रिएटिभ इन्डस्ट्री तथा इन्टेलेक्चुअल प्रोपर्टी विभागको समेत सहयोग रहेको यस चलचित्रको नेपाल व्यवस्थापन लिभेन्टस् स्टुडियो प्रा.ली. र सन्तोष कुमार कार्कीले सम्हालेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *