पुनहिल र तातोपानी कुण्डबाट सोहोरियो करोडौं राजस्व, अन्नपूर्णको आन्तरिक आय बलियो
default
म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आफ्ना प्रमुख पर्यटकीयस्थलहरूलाई आन्तरिक आम्दानीको मुख्य स्रोत बनाएको छ। गाउँपालिकाले चालु आर्थिक वर्ष २०८३/०८४ मा पर्यटकीयस्थलहरूमा प्रवेश शुल्क संकलन तथा चिया पसल सञ्चालनका लागि ठेक्का लगाएर १ करोड ३० लाख ६६ हजार ५ सय ५५ रुपैयाँ आम्दानी गरेको छ।
गाउँपालिकाभित्र रहेका पुनहिल, पाउद्वार, रातोपानी कुण्ड र रुप्से झरनाको आय ठेक्का सम्झौता भइसकेको प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेले जानकारी दिए। उनका अनुसार भुरुङ-तातोपानी कुण्डमा प्रवेश शुल्क उठाउन र चमेनागृह सञ्चालनका लागि न्यूनतम ९ लाख ५० हजार रुपैयाँ कायम गरेर आह्वान गरिएको ठेक्काको प्रस्ताव हाल मूल्यांकनको चरणमा छ।
अन्नपूर्ण गाउँपालिका-६ स्थित पुनहिलमा प्रवेश शुल्क र चिया पसल सञ्चालनका लागि घोडेपानीको सन्नी होटलले ७१ लाख ५ सय रुपैयाँमा ठेक्का सम्झौता गरेको छ। त्यस्तै पाउद्धार तातोपानी कुण्डको ५० लाख १० हजार, रातोपानी कुण्डको ४ लाख ५ सय र रुप्से झरनामा प्रवेश शुल्क संकलनका लागि ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँमा ठेक्का सम्झौता भएको छ।
सबै पर्यटकीयस्थलको ठेक्कामा न्यूनतम तोकिएको भन्दा बढी रकम कबोलेका व्यवसायीहरूले अग्रिम रूपमा राजस्व जम्मा गरेर कानुनअनुसार १० प्रतिशत छुट पाएका छन्। तर सेकार्कु तातोपानी, नारच्याङ र महभिर झरनाको क्यान्टिन सञ्चालनका लागि भने कसैको पनि प्रस्ताव नपरेको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले खोप्रा क्षेत्रमा सञ्चालित होटलहरूबाट वार्षिक रूपमा व्यवसाय करबापत प्रतिहोटल ३० हजार र सार्वजनिक जग्गा प्रयोग गरेबापत ३६ हजार रुपैयाँ बहाल कर लिने गरेको छ। मोहरेडाँडा, रुप्से छहरा, घोरेपानी, अन्नपूर्ण आधार शिविरको छोटेपा र हुमखोलालगायतका ठाउँमा रहेका होटल, रेस्टुरेन्ट तथा कफी पसलबाट समेत नियमित व्यवसाय कर संकलन गरिँदै आएको छ।
गत आर्थिक वर्ष २०८२/०८३ मा २ करोड १२ लाख ७५ हजार रुपैयाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको अन्नपूर्णले पर्यटकीयस्थलबाट मात्र १ करोड १५ लाख रुपैयाँ उठाएको थियो। चालु आर्थिक वर्षमा २ करोड ५० लाख रुपैयाँ आन्तरिक आम्दानीको लक्ष्य राखिएकोमा पर्यटकीयस्थलको योगदान नै मुख्य रहने गाउँपालिका अध्यक्ष भारतकुमार पुनले बताए।
हाल पुनहिल र भुरुङ-तातोपानीमा नेपालीका लागि प्रतिव्यक्ति ५० रुपैयाँ र विदेशीका लागि १ सय ५० रुपैयाँ प्रवेश शुल्क कायम गरिएको छ। अन्नपूर्ण गाउँपालिकाको वडा नं ४ नारच्याङमा विश्वको दशौँ र नेपालको नवौँ अग्लो अन्नपूर्ण प्रथम हिमाल रहेको छ। यसबाहेक घोडेपानी, पुनहिल, मोहरेडाँडा, खोप्रा, खयरलेक, रुप्से, नारच्याङ, महभिर झरना र विभिन्न तातोपानी कुण्डहरू यसै गाउँपालिकाभित्र पर्छन्।
पर्यटकीयस्थलको पूर्वाधार विकास, प्रचारप्रसार र प्रवर्द्धन गर्दै स्थानीयवासीको जीवनस्तर सुधारसँगै गाउँपालिकाको आन्तरिक राजस्व बढाउनेतर्फ जोड दिइएको उपाध्यक्ष दिवा तिलिजा पुनले बताइन्। उनका अनुसार चालु आर्थिक वर्षमा भुरुङ्ग-तातोपानी कुण्डमा पूर्वाधार निर्माणका लागि विनियोजन गरिएको २ करोड ३० लाख रुपैयाँको योजना कार्यान्वयनको तयारीमा छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment