कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भेगमा भारी वर्षाको सम्भावना

डिसी नेपाल
६ असोज २०८३ ७:००

काठमाडौं।  हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानभन्दा दक्षिणतर्फ अवस्थित छ।

साथै, उत्तर अन्डमान सागर र आसपासको क्षेत्रमा विकसित भएको न्यून चापीय प्रणाली हाल मध्य-पूर्व बङ्गालको खाडीमा रहेको छ। उक्त प्रणाली आगामी दिनमा थप बलियो बन्दै पश्चिम-उत्तरपश्चिम दिशाजतर्फ सर्दै जाने मौसमविद्हरूले जनाएका छन्।

हाल कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली (बादल) रहेको छ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ। अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली र तराई भूभागमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, कोशी र बागमती प्रदेशका तराई भूभागका थोरै स्थानमा तथा मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। विशेष गरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति कोशी र मधेश प्रदेशसहित देशका हिमाली भूभाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा साधारणतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा बाँकी तराई क्षेत्रमा भने आंशिक बदली रहनेछ।

रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

साथै, मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिमका तराईका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ। राति कोशी र बागमती प्रदेशका पहाडी भूभाग तथा मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *