एमाले केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक : पोलिटब्युरो र स्थायी कमिटी गठनका एजेन्डामा छलफल हुने

डिसी नेपाल
६ असोज २०८३ ७:३६

काठमाडाैं।  नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको दोस्रो दिन आज बिहान नौ बजेदेखि सुरु हुँदै छ।

पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार ललितपुरको भनिमण्डलस्थित रामबाग पार्टी प्यालेसमा भइरहेको बैठकमा आजबाट केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राख्ने क्रम सुरु हुनेछ।

प्रत्येक केन्द्रीय सदस्यलाई पार्टी, अध्यक्षको प्रतिवेदन, जनतासँगको सम्बन्ध र समसामयिक विषयमा आफ्ना विचार राख्न बढीमा तीन मिनेटको समय निर्धारण गरिएको छ।

अध्यक्ष केपी शर्मा ओलीले सोमबारको बैठकमा पेस गरेका नौ वटा एजेन्डामध्ये आठ वटा एजेन्डामाथि आजबाट छलफल तथा निर्णय प्रक्रिया अघि बढ्नेछ। बैठकमा केन्द्रीय कमिटीमा सदस्यहरूको मनोनयन, विभागहरूको गठन, पोलिटब्युरो तथा स्थायी कमिटी गठनजस्ता प्रमुख विषय कार्यसूचीमा रहेका छन्।

यसैगरी सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिस्ट मञ्च गठन तथा अनुशासनका सम्बन्धमा स्पष्ट दृष्टिकोण तय गर्ने विषयमा पनि बैठकमा छलफल हुनेछ।

एमाले स्रोतका अनुसार आज नयाँ केन्द्रीय सदस्यहरूको मनोनयन टुंग्याएर सदस्यहरूले धारणा राख्ने क्रम सुरु हुनेछ।

पोलिटब्युरो, स्थायी कमिटी गठन र नेताहरूको जिम्मेवारी कार्यविभाजन भने बुधबारसम्ममा सम्पन्न गर्ने तयारी रहेको पार्टीका एक पदाधिकारीले जानकारी दिए। यसअघि सोमबारको पहिलो दिनको बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *