तामझाम र ‘गार्ड अफ अनर’ बिना अमेरिका प्रस्थान गर्दै प्रधानमन्त्री बालेन शाह
काठमाडाैं। संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क प्रस्थान गर्न लागेका प्रधानमन्त्री बालेन्द्र शाहले विदाईको परम्परागत शैली तोड्ने भएका छन्।
उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार अपरान्ह न्युयोर्क जान लागेका प्रधानमन्त्री शाहले औपचारिक विदाईको तामझाम नगर्ने उनको नीजि सचिवालयले जनाएको छ।
अहिलेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी लाउन्जमा परम्परागत औपचारिक बिदाइ समारोहको कुनै कार्यक्रम तय भएको छैन। उनी बालुवाटारबाट सिधै विमानस्थल जाने र भीआइपी वे हुँदै विमानतर्फ जानेछन्।
प्रधानमन्त्रीकी प्रेस सल्लाहकार दीपा दाहालका अनुसार प्रधानमन्त्री दिनभर सिंहदरबारमै व्यस्त रहनेछन् र महत्वपूर्ण भेटघाटपछि साँझ ६:२० बजे निवासबाट विमानस्थल प्रवेश गरी ७ बजे कतार एयरवेजमार्फत न्युयोर्क प्रस्थान गर्ने कार्यक्रम छ।
विगतमा प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा विमानस्थलको भीआईपी लाउन्जमा मन्त्री, सुरक्षा निकायका प्रमुख, उच्चपदस्थ कर्मचारी, विदेशी कूटनीतिज्ञ तथा राजनीतिक दलका नेताहरू पुग्ने र नेपाली सेनाले ‘गार्ड अफ अनर’ दिने परम्परा रहेको थियो।
तर, यसपालि कसैलाई पनि निम्ता गरिएको छैन र गार्ड अफ अनरको कार्यक्रम पनि राखिएको छैन। भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण देश शोकमा रहेकाले औपचारिक विदाई कार्यक्रम नराखिएको हो।
प्रधानमन्त्री पद सम्हालेपछिको पहिलो विदेश भ्रमणका रूपमा १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क जान लागेका शाहले असोज ८ गते (सेप्टेम्बर २४) मा महासभालाई सम्बोधन गर्नेछन्।
सम्बोधनका क्रममा उनले हालै भोटेकोशी बाढीले पुर्याएको ठूलो क्षति र हिमाली क्षेत्रमा देखिएको जलवायु परिवर्तनको गम्भीर असरबारे विश्व समुदायको ध्यानाकर्षण गराउने तयारी गरेका छन्। साथै, जलवायु न्याय, हानी-नोक्सानी कोषबाट क्षतिपूर्ति, र प्रविधि हस्तान्तरणका मुद्दाहरूलाई पनि प्राथमिकताका साथ उठाउने बताइएको छ।
परराष्ट्रमन्त्री शिशिर खनाल, मुख्य सल्लाहकार कुमार व्यञ्जनकार र परराष्ट्र सचिव अमृतबहादुर राईसहितको टोलीमध्ये परराष्ट्रमन्त्री खनालको टोली न्युयोर्क पुगिसकेको छ। न्युयोर्क बसाइका क्रममा प्रधानमन्त्री शाहले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ।
भ्रमणअघि प्रधानमन्त्री शाहले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूसँग पनि छलफल गरेका थिए। प्रधानमन्त्री शाह असोज १० गते (सेप्टेम्बर २६) स्वदेश फर्किनेछन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment