प्रतिनिधिसभा बैठक बस्दै: फोहोरमैला व्यवस्थापनलगायत तीन विधेयक प्रस्तुत हुने

डिसी नेपाल
७ असोज २०८३ ६:२५

काठमाडौं।  संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११:०० बजे बस्दैछ। नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने बैठकको सुरुवातमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभारसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनुहुने कार्यसूची रहेको छ।

आजको बैठकमा विभिन्न महत्त्वपूर्ण विधेयकहरू पेस तथा विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछन्। सम्भावित कार्यसूचीअनुसार पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ बैठकमा प्रस्तुत गर्नेछन्।

यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यक्रम छ।

यसैबीच, आजै संघीय संसद्अन्तर्गतका विभिन्न पाँच वटा विषयगत संसदीय समितिका बैठकहरू पनि बस्दैछन्।

संघीय संसद् सचिवालयका अनुसार अर्थ समिति, पूर्वाधार विकास समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो।

यी बैठकहरूमा समितिमा विचाराधीन रहेका विधेयकहरू र समसामयिक विषयहरूमा छलफल हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *