सभापति देउवाद्वारा विजया दशमीको शुभकामना व्यक्त
फाइल फाेटाे
सभापति देउवाद्वारा विजया दशमीको शुभंकामना व्यक्त काठमाडौं । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले विजया दशमीको शुभकामना व्यक्त गरेका छन्।
सोमबार एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले भनेका छन्, ‘आज विजया दशमीको पावन दिनमा म सम्पूर्ण दाजुभाइ तथा दिदी–बहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।’
यस्तो छ उनको विज्ञप्ति
विजया दशमी हाम्रो एक धार्मिक र सांस्कृतिक पर्व हो । अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको रुपमा मनाउँदै आएको छ ।
नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक राष्ट्र हो । मौलिक भेषभूषा सहितका यिनै विविधता हाम्रो राष्ट्रिय पहिचान बनेका छन् । हामीमा निहित बन्धुत्व भावले विविधता बीचमा पनि अनुपम एकता कायम गरेको छ । विविधता बीचको एकता नेपालीको विशेषताको रुपमा परिचायक पनि हो । विजया दशमीले हामी बीचको एकतालाई अझ मजबूत बनाएको छ ।
नेपाली कांग्रेसको नेतृत्वमा तीनै तहको निर्वाचन सम्पन्न भई मुलुकले संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रतात्मक नेपालको बलियो जग खडा गरिसकेको छ । लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई कृयाशील र संस्थागत गर्न सक्यौं भने मात्र मुलुकलाई एक समृद्ध राष्ट्रमा रुपान्तरण गर्न सक्छौँ भन्ने मैले ठानेको छु । संसारभरि शान्तिको सन्देश फैलाउने देशको रुपमा नेपाललाई चिनिन्छ । एकता, मेलमिलाप र सद्भावका रुपमा मनाइने विजया दशमी पर्वले हामी बीचमा केही मतभेदहरु छन् भने तिनीहरुलाई विर्सेर, देशको सर्वांगीण हितमा संलग्न हुने पर्वको रुपमा ग्रहण गर्न सके यसको महत्व अझ बढ्नेछ ।
विजया दशमीले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर बनाउन हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु।
आजको यो पुनीत अवसरमा म आफु र आफ्नो पार्टी नेपाली कांग्रेसको तर्फबाट स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी–बहिनीहरुमा सदा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
जय नेपाल !
शेरबहादुर देउवा (सभापति)
नेपाली काँग्रेस
No ads found for this position

डिसी नेपाल
Facebook Comment