साना नदीमा आउने आकस्मिक बाढीको पूर्वानुमान ४८ घण्टा पुर्‍याइयो

डिसी नेपाल
७ असोज २०८३ २०:०९

काठमाडौं।  जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले देशका प्रमुख नदीहरूमा आउने बाढीको पूर्वानुमान समयावधि ३ दिनबाट बढाएर ५ दिन पुर्‍याएको छ।

यसैगरी, केन्द्रले बुधबारदेखि देशभरका साना तथा मझौला नदीहरूमा आउन सक्ने आकस्मिक बाढी (फ्ल्यास फ्लड) को जोखिम पूर्वानुमानलाई पनि २४ घण्टाबाट विस्तार गरी ४८ घण्टा (दुई दिन) सम्म गर्न थालेको छ।

केन्द्रका उपकार्यकारी निर्देशक तथा प्रवक्ता डा. राजन भट्टराईका अनुसार बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवालाई थप प्रभावकारी बनाउन यस्तो प्रविधि र समयावधि विस्तार गरिएको हो।

नेपाल केन्द्रित बाढी पूर्वानुमान मोडल तथा ‘ECMWF Ensemble Forecast’ प्रणालीलाई विश्वव्यापी र क्षेत्रीय जलविज्ञानसम्बन्धी विभिन्न मोडलहरूसँग एकीकृत गरी यो नयाँ प्रणाली सञ्चालनमा ल्याइएको उनले जानकारी दिए।

दुई दिने आकस्मिक बाढी जोखिम पूर्वानुमान तयार पार्दा दक्षिण एसिया आकस्मिक बाढी विश्लेषण प्रणाली, माटोको चिस्यान, नदीको वर्तमान जलसतह र प्रवाह, वर्षाको प्रक्षेपण तथा जलाधारको समग्र अवस्था जस्ता सूचकहरूको गहन विश्लेषण गरिने केन्द्रले जनाएको छ।

बाढीको पूर्वानुमान अवधि बढेसँगै सम्भावित विपद्को पहिले नै जानकारी पाइनेछ। यसबाट पूर्वतयारी, उच्च सतर्कता, जोखिम न्यूनीकरण तथा उद्धार र राहत (प्रतिकार्य) का लागि थप पर्याप्त समय प्राप्त हुने अपेक्षा गरिएको छ।

आगामी दिनमा यस प्रणालीको शुद्धता बढाउँदै प्रभावमा आधारित पूर्वसूचना सेवालाई अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धतासमेत केन्द्रले व्यक्त गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *