क्रिकेटमा जापानको शानदार प्रदर्शन नेपालका लागि खतरा हुन सक्छ ?
काठमाडौं । जापानमा जारी एसियाली खेलकुद २०२६ अन्तर्गत टी-२० क्रिकेट प्रतियोगितामा घरेलु टोली जापानले देखाएको सनसनीपूर्ण बलिङ प्रदर्शनले आगामी खेलहरूका लागि सबैको ध्यान आकर्षित गरेको छ।
अफगानिस्तानविरुद्धको खेलमा टोली पराजित भए पनि जापानी बलरहरूले बलियो ब्याटिङ लाइनअप भएको अफगानिस्तानलाई १२९ रनमा रोकेर आफ्नो धारिलो क्षमताको परिचय दिएका छन्। यसअघि सेप्टेम्बर २२ मा भारतविरुद्धको संक्षिप्त ५ ओभरको रोमाञ्चक खेलमा पनि जापानका बलरहरूले भारतीय टोलीलाई मात्र ३२/४ रनमा सीमित पार्दै कडा चुनौती दिएका थिए।
घरेलु मैदानमा जापानको यस्तो उत्कृष्ट र अनुशासित बलिङ प्रदर्शनलाई हेर्दा, अब उनीहरूसँग प्रतिस्पर्धा गर्न गइरहेको नेपाली टोलीका लागि जापान एउटा ठूलो चुनौती र खतरा बन्न सक्ने देखिन्छ। नेपालले शनिबार जापानविरुद्ध खेल्दैछ ।
एसियाली खेलकुद २०२६ अन्तर्गत २४ सेप्टेम्बर (बिहीबार) मा कोरोगागी स्पोर्ट्स पार्क, निसिनमा खेलिएको खेलमा जापान अफगानिस्तानसँग ४८ रनले पराजित भए पनि जापानी बलरहरूले आफ्नो प्रदर्शनबाट सबैलाई निकै प्रभावित पारे।
जापानले पहिले बलिङ गर्दै बलियो टोली अफगानिस्तानलाई २० ओभरमा १२९/६ रनको स्थितिमा मात्र सीमित गरिदियो। जापानको बलिङमा इब्राहिम ताकाहासी सबैभन्दा प्रभावशाली रहे। उनले आफ्नो ४ ओभरको स्पेलमा जम्मा १९ रन दिएर २ विकेट लिए।
उनका अलावा सोमा सुगाया-स्लेटरले ३ ओभरमा १८ रन खर्चेर २ विकेट हात पारे। रिओ साकुरानो-थमसले पनि एक विकेट आफ्नो नाममा गराए। खास कुरा के छ भने इब्राहिम ताकाहासीले भारतविरुद्ध खेलिएको एकमात्र खेलमा पनि निकै प्रभावित पारेका थिए।
जापानका बलरहरूले अफगानिस्तानका ब्याटरहरूलाई खुला रूपमा खेल्ने अवसर दिएनन्। अफगानिस्तानले पावरप्लेमा ३९ रन मात्र बनाउन सक्यो भने १० ओभरपछि उसको स्कोर ५२/२ थियो। अन्तिम ओभरहरूमा केही तीव्र गतिमा रन जरूर बने, तर जापानले लगातार विकेट लिँदै स्कोरलाई धेरै माथि जान दिएन।
अफगानिस्तानका तर्फबाट मोहम्मद अकरमले ३४, कप्तान दरवेस रसुलीले २९ र मोहम्मद इसाकले अविजित २५* रन बनाए। यसका बाबजुद जापानका बलरहरूले अफगानिस्तानलाई १३० रनको अंकपार हुन दिएनन्।
यद्यपि, १३० रनको लक्ष्य पछ्याउने क्रममा जापानको टोली १९.३ ओभरमा ८१ रनमै अलआउट भयो र अफगानिस्तानले ४८ रनले खेल आफ्नो नाममा गर्यो। तर, यस खेलमा जापानका बलरहरूको प्रदर्शन अत्यन्तै उत्कृष्ट रह्यो।
जापानका तर्फबाट रिओ साकुरानो-थमसले सर्वाधिक २३ रन बनाए। यस्तै, बलिङतर्फ अफगानिस्तानका अरब गुल मोमन्दले सबैभन्दा बढी ४ विकेट लिए।
जापानका बलरहरूले सेप्टेम्बर २२ मा भारतसँग खेलिएको टी-२० खेलमा पनि शानदार प्रदर्शन गरेका थिए। जापानले ५ ओभरमा छोट्याइएको खेलमा भारतलाई ३२/४ रनको स्थितिमा रोकेको थियो।
भारतविरुद्ध जापानका तर्फबाट चार्ली हारा-हिन्जेले २ विकेट लिएका थिए भने इब्राहिम ताकाहासी र बेन्जामिन इतो-डेभिसले १-१ विकेट हात पारेका थिए।
यद्यपि, उक्त रोमाञ्चक खेलमा जापानले २ रनको हार बेहोर्नुपरेको थियो, तर भारतजस्तो बलियो टोलीविरुद्ध जापानको बलिङ असाध्यै दमदर देखिएको थियो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment