पुलिस…
“आहा! सिट पनि सफा अनि चिसो बनाइएको गाडी। यात्रा राम्रै होला,” मनमनै कल्पना गर्दै रविनले सिटमाथिको सामान राख्ने ठाउँमा झोला राख्यो। यात्रुहरू आउने क्रम अझै बाँकी नै थियो। फाट्टफुट्ट मानिसहरू मात्रै आएका थिए।
ऊ बसबाहिर गयो र यात्राका लागि आवश्यक पर्ने केही सामग्री किन्यो। बाहिर हुप्प गर्मी थियो।
“पानी त गाडीले जति चाहिए पनि दिइहाल्थ्यो नि, ल्याउनै पर्दैनथ्यो,” ऊ आफ्नो सिटमा आइपुग्दा नपुग्दै सिटको झ्यालतर्फ बसेकी केटी बोली।
केही समयअघि ऊ बसमा झोला राख्दै गर्दा उसले त्यो केटीलाई सिटमा देखेको थिएन। उसले केटीतर्फ हेर्यो। केटी फिस्स हाँसी।
“मेरो यो रुटमा पहिलो बसयात्रा भएर थाहै पाइनँ, आवश्यक परे चलाउँला,” उसले केटीतर्फ हेर्दै बोल्यो।
बसको चालकले सबै यात्रुहरू चेक गर्यो। बस निर्धारित समयमै अगाडि बढ्यो। नयाँ क्षेत्र, नयाँ मान्छे र नौलो परिवेश-रविन केही रोमाञ्चकता अनि केही अन्योलको अवस्थामा थियो।
मध्यदिउँसोको समय। बाहिर गर्मी अनि सहरको कोलाहल। बसभित्र भने शान्त वातावरण थियो। मधुरो धुनमा एकोनको गीत “छमक्क चलो…” बजिरहेको थियो। यात्राका लागि उसले म्यागी ओफरेलको ‘ल्यान्ड’ र क्यारो क्लेयर वर्कको ‘यस्टरइयर’ पुस्तक लिएको थियो।
झन्डै तीस मिनेटको यात्रा गरेपछि एउटा नदीको पुल पार गरेर बस ग्रामीण क्षेत्रमा प्रवेश गर्यो। उसलाई म्यागीको पुस्तक पढ्ने उत्सुकता थियो। तर सडकछेउका भर्खरै धानबाली लगाइएका खेतहरू, सडक किनारका ढाबाहरू, अनि स-साना तर एकै ठाउँमा झुरुप्प परेका घरहरू देखेपछि उसले ती दृश्यबाट आफूलाई हटाउन सकेन।
ऊ जन्मेको ठाउँ पनि लगभग यस्तै थियो। उसले मध्यवर्षायाममा गाउँको बीचबाट गएको आफ्नै ठाउँको सडक सम्झियो। उसले आफ्नै गाउँको धानको फाँट सम्झियो। खोला किनारका फुटबल मैदान सम्झियो, अनि स-साना घरहरू भएका बस्ती सम्झियो।
“यो बसमा हामी लगभग चौबीस घण्टा यात्रा गर्दै छौँ। सिट पार्टनरसिपमा केही समस्या भए भन्नुहोला,” केटीले एसीको बटन घुमाउँदै उतर्फ हेरेर भनी।
उसले बाहिरको दृश्यबाट नजर नहटाई बोल्यो, “चौबीस घण्टामा पुग्ने ग्यारेन्टी हो?”
“तपाईंलाई अझ लामो यात्रा गर्न मन छ जस्तो छ? हामी लगभग एक हजार किलोमिटरको यात्रा गर्दै छौँ, त्यही भएर चौबीस घण्टा भनेको,” प्रश्नसहित उसले स्पष्टीकरण दिई।
“पार्टनरसिपमा समस्या भएन भने त के भयो र… लामै यात्रा सही,” रविनको जवाफसँगै दुवै हल्का मुस्कुराए।
“तपाईं त धेरै पढ्ने मान्छे जस्तो छ नि?” भन्दै उसले रविनको हातमा भएका पुस्तकहरू आफूतर्फ तानी।
उसले दुवै पुस्तकलाई हेरी र बोली, “म्यागीको बारेमा त मलाई थाहा भएन, तर ओफरेलको कुनै किताब मैले पहिला पढेको छु।”
“सायद, ह्यामनेट।”
रविनको उत्तर भुइँमा खस्न नपाउँदै केटी बोली, “अँ… त्यसमा त एउटी आमालाई सन्तानको वियोगमा पर्ने चोटको कथा छ नि।”
“त्यति मात्रैले ह्यामनेटको कथा सकिएला र?” केटीले भनेको कुरामा उसले थप्यो।
“अरू कुरा… के छ नि?”
रविन विस्तारै बोल्यो, “शेक्सपियरको समयमा ‘ह्यामलेट’ र ‘ह्यामनेट’लाई एकै रूपमा उच्चारण गरिन्थ्यो भनिन्छ। जब शेक्सपियर र एग्नेसका जुम्ल्याहा सन्तान जुडिथ र ह्यामनेटमध्ये जुडिथलाई प्लेग रोग लाग्छ, भावनात्मक रूपमा अत्यन्त नजिक रहेको ह्यामनेटले जुडिथ मर्न लागेको थाहा पाएपछि मृत्युलाई आफूतर्फ तान्छ र उसको मृत्यु हुन्छ। छोराको मृत्युपछि पनि बाबु नाट्य क्षेत्रमै सक्रिय हुन्छ, तर आमालाई यसको गहिरो चोट पर्छ। परिवार विखण्डनको चरणमा पुग्दा महान् नाट्यकारले ‘ह्यामलेट’ नाटक लेख्छन् र नाटकमा आत्माको भूमिका निर्वाह गर्छन्। एग्नेसलाई त्यस कुराले सकारात्मक प्रभाव पार्छ।”
केटीले रविन बोलुन्जेल उसको अनुहारमा हेरी रही र बोली, “तपाईं त साँच्चिकै धेरै पढ्नुहुँदो रहेछ नि!”
रविन फिस्स हाँस्यो।
खेतमा किसानहरू काम गरिरहेका थिए। कतै ट्र्याक्टरले खेत जोतिरहेको देखिन्थ्यो त कतै पहेँलपुर भएर पाकेका धानका फाँटहरू थिए। सायद केही अगाडि ठूलो पानी परेको हुनुपर्छ, कतिपय खेतका गह्राहरू पानीले भरिएका थिए।
कतै मकैको ठूलो खेती अनि अंगुरका बगानहरू थिए। थोरै भिरालो भए पनि जमिन लगभग समथर नै थियो। बसभित्रबाट क्षितिजसम्म देखिने निलो आकाश अनि कतै-कतै हल्का बादल। निकै पर मधुरो गरी एउटा अग्लो पहाड देखियो।
“तपाईंले देख्नुभयो त्यो पहाड? हामी त्यसको पल्लोपट्टिको तल पुग्नेछौँ,” केटीको आवाजले रविन झसङ्ग भयो। उतर्फ हेर्दै उसले थपिन्, “तपाईं त प्रकृतिमै हराउनुभएछ।”
रविनले उसलाई नियालेर हेर्यो। गहुँगोरो वर्ण, उमेर छब्बिस-अट्ठाइस वर्ष अनि चुच्चो नाक।
“तपाईंलाई कसरी थाहा भयो कि हामी त्यही पहाडको तलपट्टि पुग्नुपर्छ?” केटीको अनुहारबाट आँखा नहटाई उसले सोध्यो।
“त्यो पहाडमा हामीले गत वर्षको हिउँदमा हाइकिङ गरेका थियौँ, त्यसैले मलाई त्यहाँको सबै लोकेसन थाहा छ। हामीलाई त्यस पहाडको फेदीमा पुग्न लगभग आठ घण्टा लाग्छ र बाँकी समय त्यही पहाडको सेरोफेरोबाट तल समुद्रको किनारा हुँदै पारिपट्टि जान्छौँ।”
उसलाई त्यो क्षेत्रका बारेमा धेरै जानकारी रहेछ।
“तपाईंलाई थाहा रहेछ, मलाई रमाइलो हुने भयो,” रविनले भन्यो।
“मलाई थाहा हुने तर तपाईंलाई चाहिँ कसरी नि रमाइलो?” उसले सोधी।
“पार्टनरलाई थाहा भएपछि मैले थाहा पाइरहनु परेन नि।”
उसले बोली सक्न नपाउँदै केटी बोली, “पार्टनर नभएर सिट पार्टनर पो भन्नुपर्ने हो कि?”
त्यसपछि दुवै जना हाँसे।
साँझ पर्न थालेको थियो। स-साना बुट्यानको झाडीछेउको मोटलमा बस रोकियो। चालकले आधा घण्टाका लागि खानेकुरा किन्न र खाजा खान बस रोकिएको जानकारी दिए।
“तपाईं बाहिर जानुहुन्न?” रविनले केटीतर्फ हेर्दै बोल्यो।
“तपाईंले ल्याएको खानेकुरा एक्लै खाने विचार हो र?” हाँस्दै उसले जवाफ दिई।
“हिँड्नुस्, जाऊँ। फ्रेस पनि भइन्छ। केही खान मन लाग्ने कुरा भए खाउँला,” रविन बोल्यो।
अनि उनीहरू बसबाट झरे।
त्यत्तिबेला रविनलाई लाग्यो, “बोल्ड भए पनि केटीलाई केटाले नै प्रस्ताव गर्नुपर्ने…”
“भेज खाउँ है,” उसले भनी।
“किन, तपाईं भेज हो?” रविन बोल्यो।
“मलाई ननभेज खानेकुरा देख्दा डर लाग्छ। ननभेज त रक्सी खाने मानिसको खानेकुरा हो।”
उसले सक्न नपाउँदै रविन हाँस्दै बोल्यो, “अलि मिलाउने कि? म रक्सी खान्नँ तर मलाई भेज खानेकुरा मन पर्दैन।”
केटी पनि के कम! थपिहाली, “मैले आजसम्म कुनै पनि केटाले राम्री केटीको अगाडि रक्सी खान्छु भनेको सुनेको छैन।”
“आफैँलाई आफैँ राम्री केटी, अलि मिलाउने कि?” मसिनो स्वरमा रविन बोल्यो।
ऊ पनि के कम, प्वाक्क बोली, “मिलाएरै हो। कुनै शङ्का?”
उनीहरूको हाँसो टेबलवरिपरि राम्ररी नै गुञ्जियो।
दुवैको सहमतिअनुसार भेज डम्पलिङ्स अर्डर भयो।
“नचिनेको केटीसँग प्लेट सेयर गर्नुभएको थियो कहिल्यै?” खाँदै गर्दा उसले भनी।
“मैले त नाइट बसको सिट पनि सेयर गरेको थिइनँ, प्लेटको त के कुरा!” रविनले भन्यो।
“तपाईंलाई त एकैपटक दुइटै अवसर! आज राम्रै भाग्य चम्केको रहेछ नि,” उसले भनी।
“सायद,” रविनले खानातर्फ ध्यान दिँदै भन्यो।
“नडराउनुस्, बिल पनि सेयर गरौँला,” केटी हल्का मुस्कुराउँदै बोली।
“छोरीमान्छेलाई पैसा तिराउन पाप लाग्छ। आमाले भन्नुभएको छ— सँगै खाना खाने केटीको पनि सधैँ पैसा तिरिदिनु,” उसले पनि गफलाई तन्काउने सुरमा कुरा झिक्यो।
“खानाको पैसा तिरिदिएको केटीबाट पैसाको ब्याज पनि असुल्नु भन्नुभएको छैन नि आमाले!” उसले बोल्दै गर्दा चालकले वार्निङ हर्न बजायो।
हतार-हतार खानेकुरा सकेर उनीहरू बसमा छिरे।
चालकले “ट्वान्टी वन प्लस ट्वान्टी टू” भन्यो। बसका सबै यात्रुहरूले उनीहरूलाई देखेर ताली बजाए।
बस अगाडि बढ्यो।
“ड्राइभरले वार्निङ कल दिएको थियो, होइन?” पछाडिको सिटको मानिसलाई रविनले सोध्यो।
“तिमीहरूलाई उसले तीनपटक हर्न बजायो। र यो फाइनल कल थियो। के तिमीहरू हनिमुनमा हिँडेको हो?” पछाडिको मानिसले हाँस्दै भन्यो।
केटा–केटी दुवै मुखामुख गरे।
पछाडिको मानिसले बोल्यो, “लेट्स इन्जोय… डोन्ट वरी।”
“तपाईं कहाँसम्म जानुहुन्छ? मेरो मतलब, तपाईं कहाँ हिँड्नुभएको?” उसले सिट फोल्ड गर्दै सोधी।
“यो बस पुग्ने ठाउँसम्म जाने हो। अनि तपाईं चाहिँ?” रविनले उत्तरसँगै प्रश्न पनि राख्यो।
“तपाईं नयाँ रुट भन्नुहुन्छ अनि बस पुग्ने ठाउँ पनि भन्नुहुन्छ! मैले त कुरा बुझिनँ नि,” उसले थपिन्।
“बस पुग्ने ठाउँ त टिकटमा लेखेकै छ नि, त्यहीँसम्म जाने। त्यहाँ पुगेपछि सोचौँला। तर, तपाईंले मेरो प्रश्नको उत्तर दिनुभएन नि,” रविन बोल्यो।
“ए… म तपाईंको हातमा भएको सहरसम्म हो।”
“मेरो हातको सहर?”
“हो त! तपाईंको हातमा भएको टिकटमा जुन सहरको नाम लेखिएको छ, म त्यहीँ हिँडेकी।”
उसको जवाफले रविन मनमनै बोल्यो, “अगाडि नै त्यो ठाउँ जान्छु भनेको भए हुने, अब यो केटी त त्यही कुराले आफैँलाई जिस्क्याउन लागी…”
“के सोच्न लाग्नुभयो नि?” केटी फेरि बोली।
“तपाईं धेरै बाठी हुनुहुन्छ,” रविन बोल्यो।
“घर-परिवार अनि साथीभाइ पनि यसै भन्छन्,” उसले मोबाइल स्क्रोल गर्दै भनी।
“काम के गर्नुहुन्छ नि?” रविनले सोध्यो।
उसले जवाफ दिई, “रिसेप्सनिस्ट।”
“स्वभाव र काम मिलेछ,” उसको अनुहारमा हेर्दै रविन बोल्यो।
“तपाईं नि, के गर्नुहुन्छ?” उसले सोधी।
“पुलिस।”
केटीले पुलुक्क उसको अनुहारमा हेरी र भनी, “पत्याइनँ।”
“त्यो तपाईंको अधिकार हो। प्रमाण देखाऊँ?” रविन बोल्यो।
“पर्दैन,” झ्यालतर्फ हेर्दै उसले बोली।
बाटोमा इन्धन भर्न गाडी एउटा पेट्रोल पम्पमा रोकियो। चालकले एक घण्टा आराम गर्नका लागि रोकिने जानकारी दिए।
पेट्रोल पम्पको अगाडि काठले बनाएका फलैँचाहरू थिए। सबै यात्रुहरू गाडीबाट निस्किए र कोही पसलतिर त कोही फलैँचातिर गए।
केटीले पसलबाट आइसक्रिम लिएर आई। उनीहरूले फलैँचामा बसेर आइसक्रिम खाए।
“तपाईं कति दिन रहनुहुन्छ त्यहाँ?” उसले भनी।
“सायद, दुई दिन। अनि तपाईं?” रविनले सोध्यो।
“एक्च्युअली, मलाई त्यहाँ अंकलले किन बोलाउनुभएको हो, थाहा छैन। सायद कुनै फङ्सन होला। पाँच दिनको बिदा लिएकी छु, त्यस्तै तीन दिन बस्छु होला।”
एकछिन रोकिएर उसले फेरि थपी, “सिरियसली, तपाईं त्यहाँ घुम्न मात्र कि कोही आफन्त भेटघाट या अफिसियल केही छ?”
“मेरो पनि त्यहाँ एकजना अंकल हुनुहुन्छ। धेरै समय भयो भेट नभएको। भेट पनि गरौँ र उहाँकोमा अरू आफन्त पनि आएका छन् रे। सायद त्यहाँ कुनै गेट-टुगेदर हुनुपर्छ।”
रविनले बोली नसक्दै उसले थपी, “तपाईंको र मेरो यात्राको स्टाटस त उस्तै छ त! हामी दुवै जना आफ्नो अंकलकोमा जाँदै छौँ अनि फङ्सनको स्टाटस थाहा छैन।”
रविनले सहमतिमा टाउको हल्लायो।
उसको मोबाइलमा घरी-घरी कल आइरहेको थियो, तर उसले कललाई वास्ता नगरेको जस्तो देखिन्थ्यो। रविनले यो कुरा नियालिरहेको थियो।
केटीको मोबाइलमा फोन आइरहेकै बेला रविन बोल्यो, “एउटा कुरा सोधूँ?”
“कुन कुरा?” रविनतर्फ फर्किंदै उसले बोली।
“तपाईंको फोनको कभर धेरै राम्रो छ…”
रविन राम्ररी रोकिएकै थिएन, उसले सुरु गरिहाली, “केटामान्छेको समस्या नै यही हो के, सिधै कुनै कुरा नै नभन्ने… धेरै कल आइरहेको छ, किन नउठाएको भन्नुस् न?”
रविन उसलाई हेरेर मुस्कुरायो।
अनि ऊ फेरि बोल्न थाली, “यो मेरो साथी हो। सायद, उसलाई मलाई फोन गर्न मजा आउँछ तर मलाई उसको कल नउठाउन मजा आउँछ।”
“किन?”
“साथी हो, सँगै काम गर्छौँ। घरी-घरी उसको कुरा सुन्दा ऊ मलाई मन पराउँछ कि जस्तो लाग्छ।”
“अनि तपाईं चाहिँ मन पराउनुहुन्न जस्तो छ,” रविनले कौतूहलपूर्ण तरिकाले सोध्यो।
“मन पराउने चरणमै पुगेको मित्रता त होइन, तर मैले इग्नोर गर्दा पनि मसँग नजिक हुन खोज्छ र मलाई त्यस्तो लाग्छ,” उसले प्रस्ट पार्ने शैलीमा भनी।
“मन पराउन पाउने त उसको अधिकार हो नि,” रविनले थप्यो।
“मैले उसको अधिकार फोन नउठाएरै सुरक्षित गरेकी छु,” कूटनीतिक रूपमा उसले जवाफ दिई।
“त्यही सुरक्षालाई उसले आफ्नो सम्पत्ति मान्यो भने?” रविनको प्रश्नले ऊ एकछिन रोकिई र जवाफ दिई, “आफ्नो स्वामित्वको सम्पत्तिमा पो अधिकार हुन्छ त, स्वामित्वमै नभएको सम्पत्तिमा केको अधिकार?”
“केटीमान्छेको कमजोरी नै यही हो कि वरिपरिका सबैलाई आशामा राख्ने अनि आफ्नो बाटो लाग्ने,” भावुक शैलीमा रविन बोल्यो।
“त्यो त केटाहरूको कमजोरी हो, अनि हाम्रो त ताकत हो। तपाईं त भावुक हुनुभयो नि! त्यस्तै परेको छ कि क्या हो?”
“जीवन हो, पर्न सक्छ,” रविनले उत्तर दियो।
“हुन त, पुलिसलाई सबै कुरा नभनेकै राम्रो,” फोनतर्फ हेर्दै ऊ बोली।
फोन आइ नै रहेको थियो।
रविन मुस्कुरायो मात्र, केही बोलेन।
मध्यरात भइसकेको थियो। बसका यात्रुहरू लगभग सबै निदाइसकेका थिए।
“तपाईंलाई राति सुत्नुपर्दैन?” एकछिन रोकिएकी केटीले फेरि कुरा सुरु गरी।
“मलाई मात्रै नहोला नि, हामी नै भनौँ कि?” रविनले थप्यो।
“अहिले नै अर्काको पनि जिम्मा नलिने हो कि?” केटी रोकिइन।
“पुलिसलाई त सबैको चासो हुन्छ नि?” मुसुक्क हाँस्दै ऊ बोल्यो।
“देशको पुलिस पो त, सिटको नै त होइन होला?” उसले कुरा तन्काई।
“हरेक नागरिकको सुरक्षासँग देशको सुरक्षा जोडिएको हुन्छ,” रविनले भन्यो।
झिसमिसेमा एउटा सानो स्टपमा बस रोकियो। रविन बसस्टपमा रहेको चौबीसै घण्टा खुला हुने पसलमा गयो र कफी अनि कुकीज लिएर आयो। केटी निदाइरहेकी थिई।
ऊ हातमा कफी बोकेर केटीलाई हेरिरह्यो।
‘नबोलाऊँ, कफी सेलाउने। बोलाऊँ, रिसाउने पो हो कि? सुत्नुअगाडिसम्म त राम्रै गफ भएको थियो। ‘रात खत्तम, बात खत्तम’ टाइपको केटी हो कि?’ ऊ अल्मलिएर बसिरह्यो। फेरि बोलाउनका लागि त उसको नाम पनि थाहा छैन नि!
पाँच मिनेटजति पछि बसका अरू युवाहरूको झुन्ड नै हल्ला गर्दै बाहिर निस्कियो। उनीहरूको हल्लाले केटी बिउँझी र पल्याकपुलुक बसमा नजर डुलाई।
“के हो, तपाईं त रातभर जाग्राम बस्नुभयो कि क्या हो?”
“हो नि, जाग्राम त बसेँ, तर हातमा कफी बोकेर,” हल्का मुस्कुराउँदै रविनले जवाफ दियो।
“ओ माइ गड! तपाईंले त कफी ल्याइसक्नुभएछ। म फ्रेस भएर आउँछु है।”
केटी बसको बाथरुमतिर दौडिई।
‘यो केटीको चक्करमा लागेर पनि कहीँ हुन्छ? अब यसलाई ट्वाइलेटका लागि कति समय लाग्ने हो! कति बोक्नु यो कप! एक्लै खाएर आएको भए पनि हुने नि। दुःख पाइस् मङ्गले, आफ्नै ढङ्गले!’ उसले मनमनै भन्यो।
करिब सात-आठ मिनेटमा केटी आई।
“धन्यवाद है,” मुस्कुराउँदै उसले कफी उसको हातबाट लिई।
“अनि, यहाँ बस्ने ठाउँ कन्फर्म गर्नुभयो त?” उसले भनी।
“गरेँ।”
“कहाँ?”
“ओस्वर्न।”
“मेरो पनि त्यहीँ त हो नि,” उसले भनी।
“मन भए भेट हुन सक्छ,” रविन बोल्यो।
“मन हुन के चाहिन्छ?” केटीले प्रश्न तेर्स्याई।
“फोन नम्बर वा सोसल साइट कनेक्सन,” उसले भन्यो।
“यति भए पुग्छ?”
“स्टार्ट हुन पुग्छ। त्यसपछि…”
उसको बोली सकिएको थिएन, बीचमै ऊ बोली, “गाडीको हाइब्रिड इन्जिनै ठान्नुभयो कि क्या हो? स्टार्ट भएपछि ब्याट्रीले चल्छ।”
केटीको लामो हाँसोसँगै उसले पनि लय मिलायो।
“अब हाम्रो यात्रा कति छ? आई मीन, कति घण्टा?” रविन बोल्यो।
“किन, बोर लाग्यो?” उसले भनी।
रविन हल्का मुस्कुराउँदै भन्यो, “होइन, अब कति घण्टापछि बोरिङ लाइफ सुरु हुन्छ भनेर।”
उसले पुलुक्क उसको आँखामा हेरेर भनी, “अब छ घण्टामा हामी बसपार्क पुग्छौं।”
बाटोमा उनीहरूले कलेज लाइफ, आफ्नो बसाइ र घर-परिवारका कुरा गरे।
दश बजेतिर बस एउटा मोटलमा रोकियो। खानाको पैसा केटीले तिरी। रविनले ठट्ट्यौली पारामा आमाले भनेको कुरा दोहोर्यायो।
उसले भनी, “हिसाब मिलाएको नि। फेरि भेट भएन भने…”
रविन केही बोलेन।
बसपार्क आयो। सबै यात्रुहरू आ-आफ्नो सामान मिलाउन थाले।
रविनले आफ्नो हाइकिङ झोला, स्टिक अनि स्टिल क्यामेरा मिलायो। केटीले झटपट कुनै क्रिम अनि हल्का लिपिस्टिक लगाई र कपाललाई पछाडि फर्काएर मिलाई।
“तपाईं ट्रेनमा जाने कि ट्याक्सीमा? मिल्छ भने सँगै जाऊँ,” उसले सिटबाट उठ्नै लाग्दा सोधी।
“फेरि हिसाब बराबर नहोला कि?” रविनले जिस्किँदै भन्यो।
“कुरा हिसाबको होइन महोदय, पार्टनरसिपको हो,” उसले थपी।
“मेरो सामानहरू लिनु छ। बजारमा मलाई चार-पाँच घण्टा लाग्छ। तपाईंलाई ढिला होला नि?” उसले यथार्थ बतायो।
“त्यो भए ठीक छ। एकछिन तपाईंको मोबाइल दिनुस् त।”
रविनले मोबाइल दियो।
उसले रविनको स्न्यापच्याटको क्यूआरमा आफ्नो अकाउन्ट एड गरी।
“यसमा त धेरै अकाउन्टहरू लामो समय रहँदैनन् नि?” उसको अनुहारमा हेरेर रविन बोल्यो।
“दोष सामाजिक सञ्जालको होइन, आफ्नो प्रवृत्तिको हो नि,” ऊ हाँस्दै बसबाट झरी।
रविन पछि-पछि झर्यो।
“अर्को पार्टनरसिपसम्मका लागि गुडबाई!” बिदाइको वाक्यसँगै उनीहरू छुट्टिए।
उसले केटीलाई हेर्यो। केटीले ट्याक्सी स्ट्यान्डको छेउबाट हात हल्लाई। उसले हल्का मुस्कुराउँदै हात हल्लायो।
ऊ मार्केट गयो। काका, काकी अनि भाइ-बहिनीका लागि केही सामानहरू किन्यो।
केटीसँग छुट्टिएपछि रविनलाई केटीकै याद आइरह्यो। केटीलाई ‘जाऊँ’ भनेको भए पनि मान्ने थिई होला, भनिएन। फेरि ल्याएर पनि के गर्नु? मेरो परिवारको चाहनाअनुसारका सामान किन्न पाइँदैनथ्यो, उसको कुरा सुन्नै पर्थ्यो।
यस्तै कुरा सोच्दै ऊ ट्रेन स्टेसन पुग्यो।
साँझ पर्नै लागेको थियो। ओस्वर्न स्टेसनबाट गुगल म्याप पछ्याउँदै ऊ काकाको अपार्टमेन्टतर्फ लाग्यो।
अपार्टमेन्टको तलबाट उसले काकीलाई फोन गर्यो। काकीले, “केटाकेटी बाहिर गएका छन्। भतिजी उर्वसी आएकी छे, तल आउँछे। सँगै आउनु,” भन्नुभयो।
“मैले त चिन्दिनँ नि…” रविनले भन्यो।
“फोन दिएर पठाउँछु,” काकीले फोन राख्नुभयो।
रविनले अपार्टमेन्टको ग्राउन्डछेउको फूलबारीको डिलमा सामान राख्यो र बाहिरतिर हेर्न थाल्यो। अपार्टमेन्टको बिल्डिङ गेट कतातिर छ भन्ने पनि उसलाई थाहा थिएन।
ऊ मेनगेटको छेउमा उभिइरहेको थियो।
काकीको नम्बरबाट फोन आयो।
“हेल्लो,” उसले फोन उठायो।
फोन गर्ने मानिस उसको ठीक पछाडि रहेछ।
छेउबाटै एउटी केटीको परिचित आवाज आयो-
“पुलिस…??”
पाख्रिवास, धनकुटा
No ads found for this position




Facebook Comment