कोशी प्रदेशको नालीबेली पुस्तकमा

कपिल लोहनी
१० असोज २०८३ ७:४५

बासुदेव बराल। मेरा भाइ समानका व्यक्ति। हालको कोशी प्रदेशको, पहिलेको कोशी अञ्चलको, सुनसरी जिल्ला, धरान शहरका बासिन्दा। केही समयअघि अकस्मात् मेरो काठमाडौंको बासस्थानमा आइपुग्छन् र एउटा पुस्तक दिन्छन्।

गुफापोखरीको ज्यादै मनोरम दृश्यको फोटो रहेको सो पुस्तकमा कोशी प्रदेशका विभिन्न स्थानबारे निकै राम्रो वर्णन गरिएको रहेछ। पर्यटकीय, धार्मिक, ऐतिहासिक र सांस्कृतिक गन्तव्यका रूपमा देशवासी र विदेशीलाई चिनाउनुपर्ने विचारका साथै लेखकको कोशी प्रदेशका विभिन्न ठाउँबारेको अनुभव र यसको विकासका सम्भावनाबारेका लेखहरूको निकै राम्रो सङ्गालो।

विक्रम संवत् २०५९ देखि लगभग केही वर्ष अघिसम्म लेखिएर विभिन्न स्थानीय र राष्ट्रिय स्तरका छापाहरूमा प्रकाशित उनका यात्रा संस्मरण र विचारहरूमा आधारित यो पुस्तक मलाई निकै रोचक लाग्यो।

प्रत्येक दिन पुस्तकमा प्रकाशित एक-एकवटा लेख पढ्दापढ्दै पुस्तक पुरै पढेको पत्तै भएन। अब उनीभन्दा धेरै अग्रज तथा पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाकृत ‘कोशी’ पनि छिटै पढ्न सुरु गर्ने विचार छ। पुस्तकलाई गन्तव्य, अनुभव र सम्भावना गरी तीन भागमा विभाजन गरिएको रहेछ।

सन्दकपुर, डाँडाबजार, गुफापोखरी, साँगुरीगढी, सिद्धाश्रम, विजयपुर र त्यहाँका धार्मिक क्षेत्रहरू, वराहक्षेत्र, धरान र सेरोफेरो आदि धेरै गन्तव्यका बारेमा निकै रोचक तवरले वर्णन गरिएको छ।

कतिपय स्थानहरूमा आफू पुगेको भए पनि यो पुस्तक पढेपछि मात्र त्यहाँको महत्त्व र विशेषताबारे छर्लङ्ग हुन गयो। त्यस्तै पूर्वाञ्चलमा कति धेरै महत्त्वका धार्मिक र सांस्कृतिक स्थलहरू रहेछन् भन्ने कुरा पनि यो पुस्तक पढेपछि थाहा भयो। पाथीभरा माताको दर्शनअघि र पछि छुटाउन नहुने देवीस्थलहरूबारे पनि राम्रो वर्णन छ।

पुस्तकको दोस्रो अध्यायमा पूर्वका विभिन्न ठाउँको भ्रमणबारेका अनुभवहरू समावेश छन्। यो पुस्तकले खासगरी कोशी प्रदेशको पर्यटन विकासमा भएका र गरिनुपर्ने कामहरूबारे नै बढी ध्यान दिएको देखिन्छ।

लेखकले आफ्नो प्राक्कथनमा भनेजस्तै उनले पूर्वको हिमाली क्षेत्रको भ्रमण त्यति धेरै नगरेकाले यो पुस्तकमा हिमालको वर्णन टाढाबाट देखिएका सुन्दर हिमालका रूपमा मात्र गरेका छन् र पछि-पछि छापिने पुस्तकमा सोबारे विस्तृत कुरा समावेश गर्ने प्रण पनि गरेका छन्।

मेरा पुर्खाहरू सयौँ वर्षपहिले कुमाउतिरबाट हालको पश्चिम नेपाल हुँदै राजधानी काठमाडौँ र पूर्वी नेपालसम्मै गएर बसोबास गरेको कुरा नजिकका नातेदार र बुवाआमाबाट सुनेको थिएँ।

त्यसैले होला ती क्षेत्रको भ्रमण खासै नगरेको भए पनि त्यताका मानिस र परिवेशसँगको माया दिमागको कता-कता कुनामा लुकेर बसेको छ। मेरा निकटतम पुर्खा पनि पाल्पामा निकै समय बसोबास गरेर पछि काठमाडौँमा झरेकाले होला मलाई पाल्पा र त्यो भेगको पनि औधी माया लाग्छ।

हजुरबुवाले अन्य धेरै लोहनीहरूको लामो थलो बनेको नुवाकोटमा २८ रोपनी जमिन खरिद गरेर घरबारी नै बसाउनुभएको रहेछ। एक जना निकै विपन्न पाठकथरी ब्राह्मणलाई सो घरबारीको रेखदेख गर्न छोडेर बेला-बेलामा उता बस्न जाने गर्नुभएका हजुरबुवाको र सो ब्राह्मणको शेषपछि बिस्तारै सो ब्राह्मणका सन्तानले सो पुरै जमिन आफ्नो नाममा गरेछन्।

हजुरबुवाको चिनोलाई बचाएर राख्ने मेरो प्रयत्नलाई दलगत राजनीतिमा डुबेर भ्रष्ट बनेको तत्कालीन न्याय प्रणालीले ठूलो अन्यायी निर्णय गरेर जमिन हेर्न बस्दाबस्दै मोही बनेका ब्राह्मणको परिवारलाई सो जमिनको पुरै मालिक बनाइदियो।

त्यो बेलादेखि त्यो मनोरम नुवाकोटमा गएर त्यहाँको सौन्दर्यको रस्वास्वादन गर्ने मेरो रुचि नै मरेर गयो। म जस्तो जागरुक र हुँदोखाँदो नागरिकको त यो मुलुकमा यस्तो हविगत हुन्छ भने सोझासाझा निमुखा नागरिकले न्याय पाउने कुरा त सोच्न पनि सकिँदैन। तर पनि हालैको बाढीले तहसनहस भएको मेरो पुर्ख्यौली थलोको यादमा मेरो मन निकै रुने गरेको छ।

उता पूर्वको मोरङमा दादरबेरिया, कदमा जस्ता क्षेत्रमा मेरा मावली खलकले ठूलै मौजा खरिद गरेका र मेरा मावलीका हजुरबुवा र उहाँका पनि बुवाको विराटनगरमा ठूलो हवेली नै रहेको अनि बेला-बेलामा खासगरी जाडोको याममा हामी सानो छँदा विराटनगरमा घुम्न जाँदा सेरोफेरोको भ्रमण गर्ने मौका पनि मिलेको थियो।

मेरी मातालाई माइतीबाट प्राप्त भएको खेतजमिन अझै पनि दादरबेरियामा छँदैछ। मेरा हजुरबुवा काशीराज पाण्डे नेपालकै अग्रणी विद्युतीय इन्जिनियर हुनुभएको र धेरै समयसम्म मोरङ हाइड्रोको निर्माणका दौरान त्यता बस्नुभएको अनि आफ्ना बुवाले जोडेको घरबारबाहेक आफैँले पनि विराटनगरको तिनटोलियामा एक घडेरी खरिद गरेर निकै आकर्षक बङ्गला निर्माण गराएर उहाँ बस्नुभएको थियो।

विराटनगर र योभन्दा पनि पूर्वमा हाम्रो लोहनी खलक र मावली पाण्डे खलकको धेरै ठूलो घरबार र खेती अझसम्म पनि छ। हालै मेरी माइज्यू (मामा विश्वराज पाण्डेकी अर्धाङ्गिनी) को देहावसानले हाम्रो परिवार मर्माहत भएको छ।

यसरी यो क्षेत्रमा पनि बाल्यकालदेखि नै पुग्ने गरेकोले होला मलाई नेपालको पूर्वी क्षेत्रसँग विशेष लगाव छ। झनै करिब साढे चार वर्षसम्म सुनसरीको धरानमा कामको सिलसिलामा बसोबास गरेकाले धरान मलाई दोस्रो घर जस्तै नै लाग्दछ- बरोबर गइरहन मन लाग्ने।

बासुसँग मेरो भेट आजभन्दा २५ वर्षपहिले म धरानमा एउटा बैंकको शाखा प्रमुखका रूपमा छँदा भएको हो। त्यतिबेला उनी एक फर्निचर उद्यमी थिए। फलामका केही फर्निचर मैले पनि किनेको थिएँ। ज्यादै मिलनसार र हँसिला उनले मलाई धरानको सेरोफेरो निकै पटक घुमाएका थिए र त्यहाँका धार्मिक तथा सांस्कृतिक निधिहरूबारे निकै कुरा बताएका पनि थिए।

कट्टर ब्राह्मण परिवारमा जन्मेर हुर्केका बासुले पूर्वी नेपालका रैथाने जातिका राईकी छोरीसँग प्रेम विवाह गरेका हुन्। यसो गर्दा केही समय घरबाट अलग पनि बस्नुपरेको थियो। तर उनका विद्वान् पिता र समझदार माताले उनीहरूलाई छिटै घरमा भित्र्याएका पनि थिए।

म यो विवाहबारे जिस्काउँदै उनलाई “भट्टराईले राईसँग बिहे गरेको कति सुहाएको” भन्ने गर्दथेँ। वास्तवमा मैले पनि उनले जस्तै, उनीभन्दा पनि निकै पहिले अन्तरजातीय भागी विवाह नै गरेको हुँ। उनले पूर्वकी राई कन्यासँग र मैले पश्चिमकी मगर बुवा र गुरुङ आमाकी कन्यासँग।

मेरी प्रेयसीले भने ३० वर्षे अवकाश लिएर यो दुनियाँ नै छोडेर गइसकेकी छन्- मलाई टुहुरो बनाएर। फोटोसँग भए पनि दिनहुँ कुरा भने गर्ने गर्दछु। जीवनलाई जसरी पनि चलाउनु नै पर्दो रहेछ, हरेश नखाई।

त्यतिबेला नै उनी पत्रकारका रूपमा ब्लास्ट टाइम्स, मर्निङ टाइम्स आदिमा लेख लेख्ने र सम्पादन कार्यमा खटिने गर्दथे। पछि बिस्तारै उनी पर्यटन उद्योगतिर आकर्षित हुँदै गएका हुन्।

एक पटक धरान महोत्सवका बेलामा आयोजकहरूमध्येका पूर्वमेयर मनोज मेयाङ्बोले मैले भेडेटारका बारेमा बनाएको म्युजिक भिडियोबाट प्रभावित भएर धरानबारेको गीत पनि बनाउन अनुरोध गरेपछि बासुले नै कवि गोपाल देवानसँग मलाई भेटाइदिएर सोबारेको गीत लेख्न सघाएका थिए।

बासु यानी यो पुस्तकका लेखकसँग मेरो भेट भएको बेलामा हामी नेपालको पूर्वी भेगमा पर्यटन र आर्थिक विकासलाई कसरी अघि बढाउन सकिन्छ भन्ने कुरामा निकै घोत्लिने गर्दथ्यौँ। बासुले कतै घुमेर आएपछि मसँग सो क्षेत्रका बारेमा वर्णन गरेपछि हामी अबका दिनमा त्यस्ता क्षेत्रलाई समुन्नत बनाउन के गरे उचित होला भन्ने कुरामा पनि भलाकुसारी गर्ने गर्दथ्यौँ।

विभिन्न प्रकारका इलम र उद्यम गरेका बासुलाई पछिल्लो समयमा पर्यटन उद्योग नै बढी फापेको थियो भने पर्यटन विकास उनको रुचिको विषय पनि हो।

यही सिलसिलामा उनले भुटान, सिक्किम र भारतका आसाम, कोलकाताकोलगायत अन्य धेरै ठाउँहरूको भ्रमण गरेर त्यहाँ धार्मिक, सांस्कृतिक, साहसिक र अन्य प्रकारका पर्यटन विकासमा कस्ता प्रयास भएका छन् भन्ने कुराको अध्ययन गरेर फर्केपछि मलाई पनि आफ्ना अनुभव बाँडेर मेरो ज्ञानको दायरा र कौतुहल बढाउन विशेष भूमिका खेल्ने गर्दथे।

कोशीको पर्यटनको विकासमा बासुले विभिन्न निकायमा कुरा राखेर सक्दो कोसिस गरिरहेका र आफूले पनि होटेल तथा साहसिक पर्यटन व्यवसायमा हात हालेका छन्।

एकचोटि हामी दुई दाजुभाइ बसेर निकै पहिले कोशी बाँधको निर्माणताका ढुंगा र काठ ओसार्न बनाइएको न्यारोगेज (छोटागजी) रेल पश्चिम धरानसम्म चल्ने गरेको बारे कुरा गरेका थियौं।

सो रेलको अवशेष अब निकै कम मात्र बाँकी भएको र सो रेललाई त्यही स्वरूपमा पुनर्निर्माण गरेर पर्यटन विकासको हेतुले चलाउन सके यो क्षेत्रका लागि निकै हितकर हुने कुरामा हामी दुवै जना सहमत भएका थियौँ। यो पुस्तकमा उनले एक लेखमार्फत यो कुराबारे पनि जानकारी दिएका रहेछन् र नेपालको रेल इतिहासबारे पनि अलिकति प्रकाश पारेका रहेछन्।

त्यस्तै पूर्वका विभिन्न स्थानमा केवलकार, प्याराग्लाइडिङ, पडवे आदिको निर्माण, सुन्तला र चियाजस्ता नगदे बालीको विकास र पर्यटन त्रिभुज (टुरिजम ट्रयाङ्गल) तथा सर्किट एवं धार्मिक, जल, निकुञ्ज पर्यटन अनि भारतीय, बङ्गलादेशी र यो क्षेत्रका अन्य पर्यटक र मुलुकभित्रकै घुम्न मन पराउने आन्तरिक पर्यटकलाई कसरी आकर्षित गरेर भित्र्याउने भन्ने बारेका सम्भावनाहरूलाई लेखकले आफ्नो पुस्तकमा समावेश गरेका रहेछन्।

आफ्नो क्षेत्र वा मुलुकलाई नै विश्वसामु चिनाउने र समृद्धि ल्याउने काममा सरकार वा कुनै निकायको मात्र मुख ताक्नुभन्दा पनि आफ्नो तर्फबाट के सोच राख्न सकिन्छ र के-के योगदान गर्न सकिन्छ भन्ने कुरा सबै नागरिकको कर्तव्यभित्र नै पर्दछ।

दलका झोलेहरू चाकडी, चुक्ली, चाप्लुसी तथा अवैध धन आर्जनमा नै समय खर्चिन्छन् भने बासुजस्ता इमान्दार र बौद्धिक प्रकृतिका मानिस खाली समयको सदुपयोग गरेर आफ्नोभन्दा पनि समाज र राष्ट्रको उत्थानको कुरामा घोत्लिइरहेका हुन्छन्।

उनको यो पुस्तक पढेपछि मलाई उनीमाथिको श्रद्धा झनै बढेको छ भने मैले ज्यादै ठीक व्यक्तिलाई भाइ भनेर मानेको रहेछु भन्ने महसुस भएको छ। आखिर घरमा ज्यादै बुद्धिमान् बाबु र संस्कारी आमाको लालनपालनमा हुर्किएका बासु र उनका भाइबहिनीले समाजमा असल कार्य गरेर सुनाम राख्नेबाहेक धन प्राप्तिमा के नै समय खर्चिएका छन् र!

उनीजस्तै नेपालका सबै प्रदेशमा इमान्दार, विवेकी र मनको कुरा लेख र पुस्तकमा उतारेर आफ्नो क्षेत्रको बारेको ज्ञान सबैलाई बाँड्ने अनि आफूले आर्जेको अनुभव र अध्ययनका आधारमा विकास योजनाका खाका पस्कने हो भने मुलुकले कसो फड्को नमार्ला! यो नै सबै नेपालीको संस्कार र पहिचान हो।

लेखक: विकास अर्थशास्त्री, एकल व्यक्तित्व समाज र समसामयिक गायक समाजका अध्यक्ष हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *