काठमाडौंका नदी तटीय क्षेत्रमा बाढीको जोखिम: करिडोरका सडक प्रयोग नगर्न आग्रह
काठमाडौं। लगातारको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका मुख्य नदीहरूमा पानीको बहाव उच्च भएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षा निकायले नदी तटीय क्षेत्र तथा करिडोरहरूमा निगरानी बढाएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीका अनुसार नदी किनार तथा करिडोर क्षेत्रमा पार्क गरिएका र रोकिएका सवारीसाधनहरू हटाउन अनुरोध गरिएको छ भने जोखिमयुक्त स्थानबाट गाडीहरू हटाउने काम भइरहेको छ। नेपाल प्रहरी, ट्राफिक प्रहरीलगायतका सुरक्षा निकायले संयुक्त रूपमा करिडोर क्षेत्रमा चौबिसै घण्टा निगरानी गरिरहेका छन्।
विशेष गरी बागमती र विष्णुमती करिडोर क्षेत्रमा बाढीको जोखिम बढेकाले सर्वसाधारणलाई सावधानी अपनाउन र सम्भव भएसम्म करिडोर सडक प्रयोग नगर्न प्रहरीले आग्रह गरेको छ। यसबारे मेट्रो ट्राफिक एफएममार्फत निरन्तर सूचना सम्प्रेषण भइरहेको छ।
उपत्यकाका नदीहरूमध्ये विशेष गरी च्यासल र थापाथली क्षेत्रमा पानीको सतह निकै बढेकाले प्रहरीले पैदलयात्रीहरूलाई समेत ती क्षेत्रका सडक प्रयोग नगर्न अपिल गरेको छ।
हालसम्म काठमाडौँ उपत्यकाभित्रको आन्तरिक यातायात व्यवस्थापन सामान्य रूपमा सञ्चालन भइरहेको छ। तर, उपत्यका बाहिरिने मुख्य राजमार्गहरू अवरुद्ध भएकाले ती रुटमा जाने सवारीसाधनहरूलाई काठमाडौँमै रोकिएको छ।
विशेष गरी बीपी राजमार्ग, कान्ति लोकपथ, दक्षिणकाली-सिस्नेरी सडकखण्ड र पृथ्वी राजमार्गमा पहिरोका कारण यातायात ठप्प छ। यद्यपि, मकवानपुरबाट त्रिभुवन राजपथ हुँदै काठमाडौँ प्रवेश गर्ने सडक, टोखा-छहरे हुँदै नुवाकोट जाने रुट र साँखुतर्फ जाने सडकहरू भने सञ्चालनमा रहेका छन्।
प्रहरीले अत्यावश्यक सामग्री बोकेका सवारीसाधन तथा बिचबाटोमा रोकिएका यात्रुहरूको व्यवस्थापन र सहजीकरणलाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment