पृथ्वीराजमार्गका दर्जनौँ ठाउँमा पहिरो, यात्रा नगर्न प्रशासनको आग्रह
तनहुँ । अविरल वर्षाका कारण पृथ्वीराजमार्गको पोखरा–मुग्लिन सडकखण्डअन्तर्गत तनहुँ क्षेत्रका विभिन्न स्थानमा पहिरो खस्दा सडक यातायात जोखिमपूर्ण बनेको छ। राजमार्गका मौरीबास, दमौली बजार नजिकैको मादीपुल छेउ, घाँसीकुवा, मुसेखोला, छिर्कने, विमलनगर, चिसापानी, सानो डुम्रे तथा ऐनापहरा लगायतका क्षेत्रमा पहिरो खसेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार वर्षा निरन्तर भइरहेकाले पहिरो खस्ने क्रम जारी छ। पहिरोका कारण कतिपय स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ भने केही ठाउँमा एकतर्फी रूपमा मात्र सवारी साधन सञ्चालन भइरहेका छन्। वर्षाले तनहुँबाट मुग्लिन हुँदै काठमाडौँ र भरतपुरतर्फ जाने सडकसमेत प्रभावित भएको छ।
जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय तनहुँ र प्रहरीले यात्रु तथा चालकलाई यात्रामा निस्कनुअघि सडकको अवस्था बुझ्न र सम्भव भएसम्म यात्रा नगर्न आग्रह गरेका छन्। जल तथा मौसम विज्ञान विभागले असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको पूर्वानुमान गरेकाले नदी, खोला तटीय क्षेत्र र पहिरोको जोखिममा रहेका सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।
प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले रातको समयमा अत्यावश्यक बाहेक लामो दूरीको यात्रा नगर्न र जोखिमयुक्त क्षेत्रमा सुरक्षित स्थानमा बस्न आग्रह गर्नुभएको छ। विपद्को समयमा उद्धार तथा सहयोगका लागि नेपाल प्रहरीको १००, सशस्त्र प्रहरी बलको १११४ र जिल्ला आपत्कालीन केन्द्रको १२३४ मा सम्पर्क गर्न सकिने प्रशासनले जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment