देशभर बाढीको उच्च जोखिम, २६ जिल्लामा विशेष सावधानी अपनाउन आग्रह

डिसी नेपाल
१० असोज २०८३ १५:१९

काठमाडौं। देशका प्रमुख तथा सहायक नदीहरूमा जलसतह तीव्र रूपमा बढ्न थालेपछि मध्य र पश्चिमी नेपालका विभिन्न जिल्लाहरूमा आकस्मिक बाढीको जोखिम उच्च बनेको छ। बाढी पूर्वानुमान महाशाखाले असोज १० गते बिहान जारी गरेको बुलेटिन अनुसार कोसी, नारायणी लगायतका प्रमुख नदीहरूमा पानीको सतह सतर्कता तहभन्दा माथि पुगिसकेको छ।

महाशाखाका अनुसार बागमती, पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तह नजिक पुगेको छ भने कोसी, कर्णाली, महाकाली, कन्काई, कमला, तिनाउ, बाणगङ्गा र पूर्वी राप्तीका मापन केन्द्रहरूमा पनि जलसतह उल्लेख्य रूपमा बढिरहेको छ। विशेष गरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साना नदी तथा खोलाहरूमा आकस्मिक बाढी आउने खतरा औँल्याइएको छ।

बाढी र डुबानको उच्च जोखिमलाई ध्यानमा राख्दै महाशाखाले गोरखा, कास्की, लमजुङ, मनाङ, मुस्ताङ, नवलपरासी, रुपन्देही, कपिलवस्तु, म्याग्दी, बागलुङ, पर्वत, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर, डोटी, हुम्ला, डोल्पा, जाजरकोट, मुगु र डडेल्धुरा गरी २६ जिल्लामा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

यसैगरी काठमाडौं उपत्यकासहित देशका अन्य पहाडी तथा तराईका जिल्लाहरूमा पनि बाढीको मध्यम जोखिम रहेको जनाइएको छ। आगामी एक-दुई दिनसम्म प्रमुख नदीहरूमा जलसतह बढ्ने क्रम जारी रहने भएकाले नदी तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन महाशाखाले अपिल गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *