भारी वर्षाले कर्णालीका विभिन्न सडक खण्ड अवरुद्ध

डिसी नेपाल
१० असोज २०८३ १६:१२

सुर्खेत। लगातारको भारी वर्षाका कारण कर्णाली प्रदेशका विभिन्न जिल्लाका सडक खण्ड अवरुद्ध भएका छन्। वर्षासँगै पहिरो तथा माटो खस्दा कर्णाली राजमार्ग, राप्ती राजमार्ग र अन्य सडकमा यातायात प्रभावित भएको हो।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका अनुसार कालिकोटको शुभकालिका गाउँपालिका–१ गगनेखोलामा सडक अवरुद्ध भएको छ। कर्णाली राजमार्गअन्तर्गत तिलागुफा नगरपालिका–१ भिग्मामा पनि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

जुम्लाको तातोपानी गाउँपालिकाअन्तर्गत पर्ने नाग्मा–जुम्ला सडक खण्डमा पनि यातायात अवरुद्ध भएको छ। उक्त सडक खण्ड कर्णाली राजमार्गअन्तर्गत पर्छ। यस्तै मुगुको छायानाथ रारा नगरपालिका–७ र ८ पिना क्षेत्रमा गमगढी–नाग्मा सडक खण्ड अवरुद्ध भएको छ।

जाजरकोटको छेडागाड नगरपालिका–४ लेवाभीरमा भित्री सडक अवरुद्ध भएको छ। हुम्लाको सर्केगाड गाउँपालिका–१ खच्चामा पनि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

यसै गरी सल्यानको कपुरकोट गाउँपालिका–३ र ४ स्थित अरिङ्गालेमा पहिरोका कारण राप्ती राजमार्ग अवरुद्ध भए पनि अहिले एकतर्फी रूपमा सञ्चालनमा आएको छ।

भारी वर्षाका कारण सडक खण्डहरूमा पहिरो खस्ने क्रम जारी रहेकाले यातायात सञ्चालनमा समस्या भएको प्रहरीले जनाएको छ। अवरुद्ध सडक खण्ड खुलाउने तथा यातायात सञ्चालन सहज बनाउने प्रयास भइरहेको छ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख मुकुन्दप्रसाद रिजालले वर्षाका कारण कर्णालीका विभिन्न सडक खण्डमा यातायात प्रभावित भएको जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *