भोटेकोशी बाढीमा हालसम्म १,४५३ जनाको मृत्यु: १,३३४ शवको व्यवस्थापन, ४,७१८ जना अझै बेपत्ता

डिसी नेपाल
११ असोज २०८३ ७:३६

काठमाडौं। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार बिहान ५ बजेसम्म १ हजार ४५३ जनाको ज्यान गएको छ।

विभिन्न जिल्लाहरूमा गरी १ हजार ४५१ जनाको शव फेला परेको छ भने २ जनाको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार रसुवामा २३६, नुवाकोटमा २०४, धादिङमा ७२, चितवनमा ३६८, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ जनाको शव फेला परेको छ।

फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमुना सङ्कलनलगायतका आवश्यक कानुनी प्रक्रिया पूरा गरी हालसम्म १ हजार ३३४ वटा शवको व्यवस्थापन (माटोमुनि सुरक्षित रूपमा राखिएको) गरिएको छ। शव पहिचानका लागि मृतकका १ हजार ३३० र आफन्तका २ हजार ६१ गरी कुल ३ हजार ३९१ वटा डीएनए नमुना संकलन गरिएको छ।

यसैगरी, पहिचान हुन नसकेका १ हजार ४२१ वटा शवहरूको विवरण नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा अपलोड गरिएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण र शव व्यवस्थापनका लागि हालसम्म ७ हजार ९७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ। बाढीमा परी बेपत्ता भएका ४ हजार ७१८ जनाको खोजी कार्य निरन्तर जारी रहेको प्रहरीले जनाएको छ।

त्यस्तै, बाढीबाट विस्थापित भएका १ हजार २७९ जना व्यक्तिहरूलाई विभिन्न जिल्लाहरूमा स्थापना गरिएका होल्डिङ सेन्टरमा राखिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *