तिनाउ नदीमा बाढीको वितण्डा: बुटवलमा दुई घर बगे, तीन घरमा क्षति

डिसी नेपाल
११ असोज २०८३ ७:५०

बुटवल। अविरल वर्षापछि तिनाउ नदीमा आएको विनाशकारी बाढीका कारण बुटवल उपमहानगरपालिका-११, टप मजुवा क्षेत्रमा दुई वटा घर बगेका छन् भने अन्य तीन वटा घरमा आंशिक क्षति पुगेको छ।

गए राति तिनाउ नदीको जलसतहले सतर्कता तह पार गरेपछि आएको बाढीले स्थानीय दुर्गा बानियाँ र उनका छिमेकीको घर पूर्ण रूपमा बगाएको हो। यस्तै, बाढी तथा नदी कटानका कारण स्थानीय नरेन्द्र दर्जी, सकिल मियाँ र अब्दुल अलीको घरमा आंशिक क्षति पुगेको छ।

घरमा क्षति पुगेपछि प्रभावित परिवारहरूलाई स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीको टोलीले तत्काल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेका छन्। बुटवल–११ का वडा सदस्य युवराज रानाका अनुसार जोखिमयुक्त क्षेत्रका बासिन्दालाई स्थानान्तरण गरी प्राथमिक राहत तथा सुरक्षित आश्रयको व्यवस्था गरिएको छ।

स्थानीय प्रशासन तथा जल तथा मौसम विज्ञान विभागले जलसतह बढ्न थालेपछि अघि नै नदी किनार तथा होचा भूभागमा बसोबास गर्ने बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा जान अनुरोध गरेको थियो। सम्भावित ठूलो क्षति रोक्न स्थानीय तह र सुरक्षाकर्मीले जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने क्रम निरन्तर जारी राखेका छन्।

गए रातिसम्म निरन्तर भारी वर्षा भएकोमा आज बिहानदेखि बुटवल क्षेत्रमा वर्षा रोकिएको छ र तिनाउ नदीमा पानीको सतह क्रमैसँग घट्दो क्रममा रहेको छ। यद्यपि, नदी कटानको जोखिम अझै कायमै रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *