समानान्तर महाधिवेशनमा देउवा पक्ष

७ लाख ८३ हजार बढी क्रियाशील सदस्यताको विवरण निर्वाचन समितिलाई हस्तान्तरण

डिसी नेपाल
११ असोज २०८३ १४:१७

काठमाडौं।  नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया जारी रहेका बेला त्यसप्रति असन्तुष्टि जनाउँदै पूर्वसभापति शेरबहादुर देउवा पक्षले पनि पार्टीको समानान्तर महाधिवेशन गर्ने तयारी तीव्र पारेको छ।

यही असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनका क्रममा जारी प्रतिनिधि छनोट प्रक्रिया रोकेर वार्ता र सहमतिका आधारमा आगामी महाधिवेशन संयुक्त रूपमा गर्नुपर्ने माग सुनुवाइ नभएको भन्दै सो समूह कार्यतालिकासहित महाधिवेशनको तयारीमा जुटेको छ।

देउवा पक्षले १४ औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै आधिकारिक भएको दाबी गर्दै संस्थापन पक्षले आह्वान गरेको महाधिवेशन प्रक्रिया बहिष्कार गर्दै आएको छ।

सो समूहका संयोजक डा. शशांक कोइरालाले आगामी मङ्सर २१ देखि २३ गतेसम्म काठमाडौंमा १५ औं  महाधिवेशन गर्ने निर्णयसहित असोज १५ गतेदेखि वडा अधिवेशन सुरु हुने बताए। देउवा समूहले आगामी बिहीबारदेखि वडा अधिवेशन सुरु गर्न ५६ जिल्लामा निर्वाचन संयोजक तोकिएको जनाएको छ।

काङ्ग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अहिले महाधिवेशन गर्न नहुने देउवा पक्षको अडान थियो। तर, सो मागलाई बेवास्ता गर्दै असोज ३ गतेदेखि प्रतिनिधि छनोट सुरु गरेको संस्थापन पक्ष भने महाधिवेशनको अन्तिम तयारीमा जुटेको छ।

यसैबीच, आसन्न महाधिवेशनका लागि देउवा समूहद्वारा गठित सदस्यता व्यवस्थापन केन्द्रीय समितिले क्रियाशील सदस्यताको विवरण केन्द्रीय निर्वाचन समितिलाई बुझाएको नेता डा. प्रकाशशरण महतले जानकारी दिए।

क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक किरणराज शर्मा पौडेलले निर्वाचन समितिका संयोजक एकराज पोखरेललाई क्रियाशील सदस्यताको विवरण हस्तान्तरण गरिएको जानकारी दिए।

उनका अनुसार असोज ९ गतेसम्म वितरण र नवीकरण गरिएका कुल सात लाख ८३ हजार ८३६ क्रियाशील सदस्यको विवरण बुझाइएको छ।

जसमा पाँच लाख ७३ हजार ३६९ पुरानो सदस्यता नवीकरण र दुई लाख १० हजार ६६७ नयाँ क्रियाशील सदस्यता रहेको पौडेलले जानकारी दिए।

‘पहिला पार्टीले महामन्त्री गगन थापालाई यो जिम्मेवारी दिएकामा समयमै क्रियाशील सदस्यता नटुंगिँदा  समस्या आएको थियो, तर अहिले शेरबहादुर देउवाले मलाई जिम्मेवारी दिएपछि यसलाई समयमै टुंगाे लगाएर हस्तान्तरण गरिसकेको छु, अब समयमै महाधिवेशन हुन्छ, यसमा कुनै समस्या छैन,’ संयोजक पौडेलले भने।

यसैगरी, देउवा समूहका नेता डा. महतले पार्टीभित्र एकताको महाधिवेशन गर्न अन्तिमसम्म प्रयास गर्दा पनि सम्भव नभएपछि आपत्कालीन अवस्थामा समानान्तर महाधिवेशनको तयारीमा लाग्नुपरेको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *