सहमतिको प्रयास विफल भएपछि कांग्रेस काठमाडौं–३ को अधिवेशन अन्योलमा
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत प्रतिनिधिसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन सुरु भइसक्दा काठमाडौं क्षेत्र नम्बर ३ मा भने उद्घाटनमै अन्योल देखिएको छ।
आइतबार दिउँसो १ बजेका लागि तय गरिएको क्षेत्रीय अधिवेशन नेतृत्व चयनका विषयमा आकांक्षीहरूबीच सहमति जुट्न नसक्दा निर्धारित समयमा सुरु हुन नसकेको हो। नेतृत्व चयनको प्रक्रियालाई लिएर देखिएको मतभेदका कारण सम्पूर्ण अधिवेशन नै अन्योलमा परेको छ।
काठमाडौं–३ मा क्षेत्रीय सभापतिसहित विभिन्न पदमा युवा नेताहरूले दाबी पेस गरेपछि प्रतिस्पर्धा पेचिलो बनेको छ। विशेष गरी आफूलाई ‘जेन्जी’ पुस्ताका रूपमा प्रस्तुत गर्दै आएका युवा नेताहरूले सर्वसम्मतिको नाममा नभई लोकतान्त्रिक निर्वाचन प्रक्रियाबाटै नेतृत्व चयन हुनुपर्ने अडान राखेका छन्।
क्षेत्रीय सभापतिका आकांक्षी युवा नेता शिव श्रेष्ठ (शिबु)ले सहमतिका नाममा बन्द कोठाभित्र नेतृत्व तय गर्ने परिपाटी स्वीकार्य नहुने स्पष्ट पारेका छन्। ‘लोकतन्त्रमा हार–जित स्वाभाविक हुन्छ। निर्वाचनबाट आउने परिणाम म सहजै स्वीकार गर्छु, तर सहमतिका नाममा कोठाभित्र बसेर नेतृत्व चयन गर्ने कुरा मान्न सकिँदैन,’ श्रेष्ठले भने।
यस क्षेत्रीय अधिवेशनबाट नयाँ क्षेत्रीय कार्यसमितिका साथै आगामी महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरूसमेत चयन हुनेछन्। यी प्रतिनिधिहरूले असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा आयोजना हुने कांग्रेसको १५औं महाधिवेशनमा भाग लिने भएकाले काठमाडौं–३ को नेतृत्व प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment