हुम्लामा जडीबुटी संकलन गर्न गएका मुगुका एक युवाको मृत्यु, ९ जना सम्पर्कविहीन
सुर्खेत । हुम्लाको चंखेली गाउँपालिका–२ स्थित बागेढुंगा सामुदायिक वनमा जडीबुटी (कटुकी) संकलन गर्न पुगेका मुगुका एक युवाको मृत्यु भएको छ भने नौ जना सम्पर्कविहीन भएका छन्।
मुगुको मुगुम कार्मारोङ गाउँपालिका–९ पापु र छाइलबाट कटुकी संकलनका लागि हुम्ला पुगेका २२ वर्षीय गणेश बुढाको हिउँमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख (डीएसपी) रविराज थपलियाले जानकारी दिए।
प्रहरीका अनुसार भदौ २८ गते १३ जनाको टोली जडीबुटी संकलनका लागि बागेढुंगा सामुदायिक वन पुगेको थियो। त्यहाँ जडीबुटी संकलन गर्ने क्रममा स्थानीय सामुदायिक वन उपभोक्ता समितिले रोक लगाएपछि उनीहरू फर्किएका थिए। फर्कने क्रममा घुँडासम्म जमेको हिउँमा परेर बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा मुगुको पापु गाउँका २८ वर्षीय बलबहादुर बुढा, २७ वर्षीय प्रकाश बुढा, ३६ वर्षीय ललितजंग बढुवाल, ३५ वर्षीय जयबहादुर बढुवाल र २६ वर्षीय ओखबहादुर रोकाय सम्पर्कविहीन छन्। यस्तै छाइल गाउँका ३६ वर्षीय जयबहादुर रोकाय, ४२ वर्षीय वीरबहादुर ऐडी, २३ वर्षीय प्रेम रोकाय र १९ वर्षीय पवन रोकाय पनि बेपत्ता रहेको प्रहरीले जनाएको छ।
पापुका ३६ वर्षीय बच्चा बुढा, ३४ वर्षीय प्रिय बुढा र १६ वर्षीय सर्जन बुढा भने सम्पर्कमा आउन सफल भएका छन्।
मुगुको पाटन क्षेत्र हुँदै हुम्लाको सीमाक्षेत्र पुगेका संकलक र हुम्लातर्फको सामुदायिक वन समूहका मानिसहरूबीच असोज १० गते विवाद तथा झडप भएको स्थानीयको भनाइ छ। हुम्लाका स्थानीयले लखेटेपछि भागदौड मच्चिएको आरोप मुगुका बासिन्दाले लगाएका छन्।
घटनाबारे जानकारी पाउनेबित्तिकै मुगु र हुम्ला दुवैतर्फबाट खोजी तथा उद्धारका लागि प्रहरी टोली परिचालन गरिएको छ। तर घटनास्थल उच्च हिमाली क्षेत्रमा पर्नुका साथै भारी हिमपात भइरहेकाले उद्धारमा कठिनाइ भइरहेको डीएसपी थपलियाले बताए।
“अग्लो हिमाल काटेर जानुपर्ने र हिउँ अत्यधिक भएकाले बेपत्ताहरूसँग सम्पर्क हुन सकेको छैन। हिउँबाट भाग्ने क्रममा एक जनाको मृत्यु भएको प्रारम्भिक अनुमान छ,” उनले भने।
घटनास्थल दुवै जिल्लाको सीमा क्षेत्रमा पर्ने भएकाले दुवैतर्फका सुरक्षा निकायले खोजी कार्यसँगै घटनाको विस्तृत अनुसन्धान अघि बढाएका छन्।

No ads found for this position



डिसी नेपाल
Facebook Comment