बाढी पसेपछि सुस्ताका ८०० बढी नागरिक नारायणीवारि सारिए

डिसी नेपाल
११ असोज २०८३ १९:०४

नवलपरासी। अविरल वर्षासँगै नारायणी नदीमा आएको बाढी बस्तीमा पसेपछि सुस्ताका नागरिकलाई सुरक्षित स्थान (नारायणीवारि) ल्याइएको छ। पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-५ स्थित थारु र वडाका विभिन्न टोलहरूमा शुक्रबारदेखि बाढी पस्न थालेपछि स्थानीयलाई सुरुमा स्थानीय आश्रयस्थलमा राखिएको थियो।

नारायणीमा बाढीको सतह निरन्तर बढेपछि ८ सयभन्दा बढी नागरिकलाई उद्धार गरी नारायणीवारि सुस्ता बालिनगरमा रहेको बीपी माध्यमिक विद्यालयमा स्थानान्तरण गरिएको जिल्ला प्रशासन कार्यालय नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताए।

“सुस्तामा रहेका २१९ घरधुरीका करिब १,४५० नागरिकमध्ये केही अघि नै आफन्तकोमा गएका थिए,” प्रजिअ नेपालले भने, “बाँकी नागरिकलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा सुरक्षित रूपमा वारि ल्याउने काम भएको छ।”

नारायणी नदीमा रहेको झोलुङ्गे पुलनजिकै जलसतह निकै बढेका कारण नागरिकलाई सुरक्षित रूपमा माथि उकालेर विद्यालयसम्म पुर्‍याउन केही समय ढिलाइ भएको उनले जानकारी दिए। पीडितहरूका लागि उद्योग वाणिज्य महासंघ नवलपरासी र नेपाल रेडक्रस सोसाइटी नवलपरासीले राहत सामग्री वितरण सुरु गरिसकेका छन्।

यसैबीच, गण्डक योजना कार्यालय (भैँसालोटन, वाल्मीकिनगर) का सम्पर्क तथा भू-आर्जन अधिकृत सोभित हलुवाईका अनुसार गण्डक ब्यारेजमा पानीको बहाव ४ लाख ७९ हजार १०० क्युसेक पुगेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *