मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा

डिसी नेपाल
११ असोज २०८३ २१:५२

काठमाडौं। बिहीबारदेखिको अविरल वर्षासँगैको बाढी, पहिरो तथा डुबानबाट देशभरमा २१ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज साँझसम्म विपद्मा परी पाँच जना बेपत्ता र पाँच जना घाइते भएका छन्।

बाढीपहिरोबाट ७४७ परिवार प्रत्यक्ष प्रभावित भएका छन्। बङ्गालको खाडीमा उत्पन्न न्यूनचापीय प्रणालीका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न भागमा भारीदेखि अतिभारी वर्षा भएको थियो। पछिल्लो चार दिनमा बाढी र पहिरोको जोखिममा रहेका प्रभावित जिल्लाका करिब दुई हजार नागरिकलाई सुरक्षित स्थानमा सारिएको प्राधिकरणले जनाएको छ।

उद्धार गरिएका व्यक्तिका लागि सम्बन्धित जिल्ला प्रशासनको समन्वयमा स्थानीय तहमार्फत आवश्यक बन्दोबस्ती तथा राहतको व्यवस्था गरिएको छ। जाजरकोट, म्याग्दी, बागलुङलगायत जिल्लामा हेलिकप्टरमार्फत बाढी र पहिरोमा फसेका व्यक्तिको उद्धार गरिएको प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिए। विपद्बाट १४३ घर पूर्ण र ५१ घर आंशिक क्षति भएका छन्।

प्राधिकरणबाट विपद्को पूर्वतयारीस्वरुप अग्रपङ्क्तिमा खटिनेसहितलाई पाँच हजारभन्दा बढी र बाढी पूर्वानुमान महाशाखाबाट सम्भावित बाढी प्रभावित स्थानय बासिन्दालाई आठ लाख १४ हजार वटा एसएमएस पठाइएको प्राधिकरणले जनाएको छ।

चार दिनमा देशभरका १८६ स्टेसनमा १०० मिलिमिटरभन्दा बढी कुल वर्षा मापन भएको छ। सबैभन्दा बढी नवलपरासी (बर्दघाट सुस्तापूर्व)को डेढगाउँमा ५४४ दशमवल दुई मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै कास्कीको पञ्चासेमा ५०० दशमलव दुई मिलिमिटर र तनहुँको अत्रौलीटारमा ४७२ मिलिमिटर वर्षा भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *