विपत्तिको बेला सरकार सुस्त भएको भन्दै संसदमा सरकारको आलोचना
काठमाडौं। प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरूले भदौ १० गते र असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण देशैभर भएको जनधनको ठूलो क्षतिप्रति सरकारको ध्यानाकर्षण गराउँदै उद्धार र राहतमा गम्भीर हुन आग्रह गरेका छन्।
बैठकमा श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले भदौ १० गतेको घटनालाई नेपालमा पछिल्लो सय वर्षयताकै ठूलो विपत्तिका रूपमा उल्लेख गर्दै ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरे।
उनले बेपत्ताको खोजी र घाइतेको उपचारलाई प्राथमिकता दिन आग्रह गर्दै सरकारका गतिविधि स्पष्ट र गम्भीर नदेखिएकोमा असन्तुष्टि जनाए।
उनले भने, “सरकारलाई हाम्रो सल्लाह छ, यो केटाकेटी खेले जस्तो र लुकीछिपी गरे जस्तो पारा, गतिविधि भइरहेको छ कि, कम्तीमा विषय गम्भीर छ भने सिरियस्ली लाग्नुहोला। नभएदेखि कुन हिसाबबाट सरकारले यो गतिविधि गरिरहेको छ, म सभामुखमार्फत सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु।”
उनले मुलुकमा बढ्दो अभाव, भोकमरी तथा आत्मदाहका घटनाप्रति चिन्ता व्यक्त गर्दै प्रतिपक्षमा रहे पनि जनताका समस्या समाधानका लागि सरकारलाई सहयोग गर्न आफूहरू तयार रहेको स्पष्ट पारे।
त्यसैगरी नेकपा एमालेकी सांसद पदम कुमारी अर्यालले असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षाले देशभर पुर्याएको क्षतिबारे बोल्दै कतै बस्ती डुबानमा परेको, कतै पहिरोले घर पुरिएको तथा सडक र पुलहरू क्षतिग्रस्त भएको बताइन्।
कतिपय नागरिक अझै सम्पर्कविहीन रहेको र केही परिवार सुरक्षित स्थानको खोजीमा रहेको भन्दै उनले सरकारको पहिलो दायित्व नागरिकको जीवन रक्षा गर्नु रहेको र तत्काल उद्धार, राहत तथा क्षतिको यथार्थ विवरण संकलन गरिनुपर्नेमा जोड दिइन्।
अर्यालका अनुसार कालीगण्डकीलाई तटीय क्षेत्र बनाएर गण्डकी प्रदेशका मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वतलगायत ११ जिल्ला बाढी, पहिरो, हिमपहिरो र डुबानबाट प्रभावित भएका छन् र त्यसबाट ठूलो जनधनको क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको छ।
यस्तै, नेपाली कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले भोटेकोशी बाढीको घाउ सुक्न नपाउँदै असोज ८ गतेदेखिको वर्षाले देशभर र विशेष गरी बागलुङमा ठूलो क्षति पुर्याएको भन्दै उद्धार, राहत र पुनर्निर्माणको माग गरिन्।
उनले संसद्मा तथ्यांक प्रस्तुत गर्दै भनिन्, “बागलुङमा असोज १० र ११ गते आएको बाढीपहिरोमा परी १० जनाको मृत्यु भएको छ। ताराखोला गाउँपालिका-५ धम्सारमा घर भत्किँदा ९५ वर्षीय मानबहादुर रोकाको मृत्यु भएको छ।”
उनका अनुसार निसीखोला गाउँपालिका-३ मा घर भत्किँदा एकै परिवारका श्यामकुमारी विक, मनोज विक, ईरेश विक र निसान विकको मृत्यु भएको छ भने निसीखोला-६ का सूर्य घर्ती मगरको पनि घर भत्किँदा ज्यान गएको छ।
त्यस्तै तमानखोला गाउँपालिका-३ का बुद्धिराज घर्ती र भीमदेवी घर्ती तथा वडा नम्बर ४ का हस्तवीर सिर्पाली र उदीसरा सिर्पालीको मृत्यु भएको र एक जना महिला अझै सम्पर्कविहीन रहेको शर्माले जानकारी दिइन्।
मृतकहरूप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै उनले विस्थापितलाई तत्काल बसोबास, क्षतिपूर्ति र बेपत्ताको शीघ्र खोजी गर्न सरकारसँग जोडदार माग गरिन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment