पूर्वाञ्चल विश्वविद्यालयको १ अर्ब ९९ करोडको बजेट स्वीकृत, एआई र चिकित्सा शिक्षा प्राथमिकतामा

डिसी नेपाल
१३ असोज २०८३ १९:२८

काठमाडौं। पूर्वाञ्चल विश्वविद्यालयले आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ९९ करोड १६ लाख ९७ हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ।

शिक्षा तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा बसेको विश्वविद्यालयको ४३औँ सभाले बजेट, नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको हो।

विश्वविद्यालयले कृत्रिम बुद्धिमत्ता, डाटा साइन्स र साइबर सुरक्षालगायतका विषयमा नयाँ तथा विशिष्टीकृत पाठ्यक्रम सञ्चालन गर्ने योजना अघि सारेको छ। गोठगाउँस्थित ८०५ बिघा जग्गामा गुरुयोजनाअनुसार एकीकृत भौतिक संरचना निर्माण र प्रशासनिक तथा शैक्षिक सेवा डिजिटल प्रणालीमार्फत सञ्चालन गर्ने पनि लक्ष्य छ।

चिकित्सा शिक्षातर्फ गोठगाउँ परिसरमा निर्माणाधीन १०० शय्याको मातृ–शिशु अस्पताल पूरा गर्ने र कोशी अस्पतालसँगको सहकार्यमा चिकित्सा शिक्षाको गुणस्तर सुधार गर्ने विश्वविद्यालयले जनाएको छ।

जलवायु परिवर्तन तथा विपद् जोखिम न्यूनीकरणसम्बन्धी अनुसन्धान केन्द्र स्थापना, विदेशी विश्वविद्यालयसँग संयुक्त डिग्री र विद्यार्थी आदानप्रदान कार्यक्रम तथा पछाडि परेका वर्गका लागि छात्रवृत्ति विस्तार पनि नीति तथा कार्यक्रममा समेटिएका छन्।

सभामा मन्त्री पोखरेलले उच्च शिक्षालाई प्रविधि र विश्वव्यापीकरणको मागअनुसार रूपान्तरण गर्नुपर्ने बताउँदै पारित कार्यक्रमका लागि स्पष्ट कार्ययोजना, जिम्मेवारी र समयसीमा तोक्न निर्देशन दिए।

सभाले कार्यकारी परिषद्का लागि तीन वर्षे कार्यकालमा प्रा.डा. परिचा उपाध्याय ढुंगेल, प्रा.डा. कृष्णप्रसाद पाण्डे र प्राध्यापक मोहनबहादुर बस्नेतलाई मनोनयन गर्ने निर्णयसमेत गरेको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *