बाढी-पहिरोबाट जनधनको ठूलो क्षति भएपछि म्याग्दीलाई ‘विपद् संकटग्रस्त जिल्ला’ घोषणा गर्न सिफारिस
म्याग्दी। बाढी र पहिरोले जनधनको ठूलो क्षति पुर्याएपछि म्याग्दी जिल्लालाई ‘विपद् सङ्कटग्रस्त जिल्ला’ घोषणा गर्न सिफारिस गरिएको छ। जिल्ला विपद् व्यवस्थापन समितिको मङ्गलबार बसेको बैठकले म्याग्दीलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरी पुनर्निर्माण र पुनस्र्थापनाका कामलाई प्राथमिकता दिन गृह मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको हो।
प्रमुख जिल्ला अधिकारी गणेश गैरेका अनुसार यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी र पहिरोले जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको छ। विपद्मा परी हालसम्म सात जनाको ज्यान गएको छ भने दुई जना अझै बेपत्ता छन्। सडक, विद्युत्, सिँचाइ, खानेपानी र भवनलगायतका भौतिक संरचनामा व्यापक क्षति पुगेकाले म्याग्दीलाई संकटग्रस्त जिल्ला घोषणाका लागि सिफारिस गरिएको उनले बताए।
यसैबीच, बाढी-पहिरोले पुर्याएको भौतिक संरचना, निजी आवास, कृषि तथा पशुपक्षी क्षेत्रको वास्तविक क्षतिको विवरण सङ्कलन गर्न मङ्गलबारदेखि स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले उद्धार र राहत वितरणसँगै जिल्लाका छ वटै पालिकामा क्षति विवरण संकलन कार्य तीव्र पारिएको जानकारी दिए।
प्राप्त प्रारम्भिक विवरणअनुसार बाढी-पहिरोले बेनी नगरपालिकामा २३, रघुगङ्गामा तीन, मङ्गलामा १८, मालिकामा एक, अन्नपूर्णमा दुई र धवलागिरि गाउँपालिकामा एक गरी कूल ४८ घर पूर्ण रूपमा नष्ट भएका छन्। यस्तै बेनी नगरपालिकामा नौ र मालिका गाउँपालिकामा एक घरमा आंशिक क्षति पुगेको छ।
यसबाहेक बेनीमा २३, रघुगङ्गामा ४७, मङ्गलामा चार, मालिकामा तीन र धवलागिरिमा २३ घर पहिरोको उच्च जोखिममा परेका छन्। त्यसैगरी बेनीमा २१, रघुगङ्गामा २६, मङ्गलामा आठ, अन्नपूर्णमा एक वटा गोठ क्षति हुनुका साथै जिल्लाभर २० वटा पशुधन नष्ट भएको विवरण सङ्कलन भएको छ।
पहिरोले गाउँ नै घेरिएपछि जोखिममा परेका अन्नपूर्ण गाउँपालिका-५ स्थित पाउद्वार, गिवाङ, नेपाने, किन्दु, धोस्केखोर र घिरवाङका १०९ जना स्थानीयलाई हेलिकप्टरमार्फत उद्धार गरी शिख र घारमा बनाइएका अस्थायी शिविरमा राखिएको छ। विपद्पछिको खोज तथा उद्धार कार्यमा नेपाली सेनाका ७०, नेपाल प्रहरीका २५१ र सशस्त्र प्रहरी बलका ६० जना सुरक्षाकर्मी निरन्तर परिचालन भएका छन्।
लगातारको बाढी-पहिरोका कारण म्याग्दीको सदरमुकाम बेनीलाई अन्य जिल्ला र ग्रामीण भेगसँग जोड्ने सबै सञ्जाल तथा सडकहरू पूर्ण रूपमा अवरुद्ध बनेका छन्। सदरमुकाम बाहेकका अधिकांश क्षेत्रमा विद्युत् र सञ्चार सेवा ठप्प छ भने सदरमुकाम बेनीमै खानेपानीको हाहाकार मच्चिएको छ।
No ads found for this position




Facebook Comment