फ्लाइदुबईको विमानमा खासमा के भएको थियो ? यात्रुले बताए पूरा घटनाक्रम
काठमाडौं । फ्लाईदुबाई एयरलाइन्सको एफजेड १०७३ उडान दुबईबाट तेल अभिभ जाँदै गर्दा दुई मिनेटभन्दा पनि कम समयमा १७,००० फिट (करिब ५,२०० मिटर) तल खसेको थियो।
त्यसपछि विमानलाई साउदी अरब्बतर्फ मोडियो र त्यहीँ अवतरण गराइयो। तत्काल विमानभित्र के भएको थियो भन्ने थाहा हुन सकेको थिएन। तर अवतरणपछि यात्रुहरूले विमानभित्रको भयावह अवस्थाबारे बताएका छन्।
एक यात्रुले बताएअनुसार पूरै विमानमा भयानक चिच्याहट सुनिएको थियो। त्यसपछि तीनदेखि पाँच जना मानिसहरू ककपिटभित्र छिरेर आक्रमणकारीलाई नियन्त्रणमा लिएका थिए।
अर्का एक यात्रुले चक्कु बोकेका आक्रमणकारीबाट आफूहरूले “उडानको नियन्त्रण आफ्नो हातमा लिएको” बताए। यसैबीच, पछाडि बसेका अन्य दुई पाइलटहरू अगाडि आएर विमान अवतरण गराउने जिम्मेवारी सम्हालेका थिए।
इजरायलको बेन गुरियन विमानस्थलमा उत्सवको माहौल देखिएको थियो, जहाँ फ्लाईदुबाईको उडानबाट फर्किएका यात्रुहरूलाई स्वागत गर्न ठूलो सङ्ख्यामा मानिसहरू जम्मा भएका थिए। मानिसहरू इजरायली झण्डा हल्लाइरहेका थिए र टर्मिनलबाट बाहिर निस्किएका यात्रुहरूलाई उत्साहका साथ स्वागत गरिरहेका थिए।
उडानमा सवार यात्रुहरूले विमानभित्र घटेको घटनाबारे कैयौँ मुटु काँप्ने विवरणहरू दिएका छन्।
अल्मोग इटाली पनि यसै विमानमा सवार थिए। उनले बीबीसी न्युजनाइटसँग कुरा गर्दै हावामा विमान तीव्र गतिमा तल खस्दाको अनुभवलाई ‘रोलरकोस्टर’ को सवारलीसँग तुलना गरेका छन्।
इटालीले भने, “अचानक विमान रोलरकोस्टरजस्तै धेरै तीव्र गतिमा तल खस्न थाल्यो, मानौँ कुनै धेरै जबर्दस्त जी-फोर्सको असर भइरहेको थियो।”
उनले अगाडि भने, “विमान २० वा ३० सेकेन्डसम्म तीव्र गतिमा तल खसिरहेको थियो। त्यसपछि विमान केही स्थिर भयो र पुनः दोहोर्याएर तल जान थाल्यो।”
जब विमान दोस्रोपटक तल खस्न थाल्यो, उनले केही मानिसहरूलाई “ककपिटतर्फ दगुर्दै गरेको” देखेका थिए।
उनले भने, “एक पाइलटले अर्कालाई रोकेको र केही यात्रु तथा क्रु सदस्यहरूले उसलाई नियन्त्रणमा लिएर भुइँमा पछारिदिएको देखिन्थ्यो।”
उनले बताएअनुसार, “पाइलटलाई नियन्त्रणमा लिने तीन वा चार जना यात्रुहरू मात्र घाइते भएका छन्। त्यसैले सायद तपाईँले उनीहरूको अनुहारमा चोट देख्नुभएको होला, तर अन्य यात्रुहरूलाई कुनै चोट लागेको छैन। ती तीन-चार जना अत्यन्तै साहसी मानिसहरूलाई पनि सामान्य चोट मात्र लागेको छ, कुनै गम्भीर चोट लागेको छैन।”
इटालीले थपे, “उनीहरू धेरै साहसी छन्। उनीहरूले साच्चिकै हाम्रो ज्यान बचाएका हुन्।”
अर्का यात्रु हाइम लाजारोविचले पत्रकारहरूसँग भने, “भगवानलाई धन्यवाद छ कि म जीवित छु। यस उडानको सबैभन्दा डरलाग्दो क्षण तब थियो, जब पाइलटले विमानमाथिको नियन्त्रण गुमाएका थिए।”
इजरायलको एम्बुलेन्स सेवाका एक प्यारामेडिकले बीबीसीलाई बताएअनुसार कैयौँ मानिसहरू विमानबाट बाहिर निस्कँदा “अत्यन्तै भावुक भएका थिए र रोइरहेका थिए।”
प्रधानमन्त्री नेतान्याहुले यात्रुहरूमध्येका एक यानिवसँग भेटघाट गरेका छन्।
यानिव ककपिटभित्र छिरेका थिए। नेतान्याहुले उनलाई “एक हिरो” (नायक) को संज्ञा दिएका छन्।
नेतान्याहुले उनको कमिजमा लागेको रगतको दागसतर्फ इसारा गर्दै सोधे, “वाह, के यो उसैको रगत हो?” यानिवले जवाफ दिए, “अँ, यो उसैको हो।”
नेतान्याहुले भने, “तपाईँले जे गर्नुभयो, त्यो वास्तवमै अविश्वसनीय छ।”
यानिवले बताए, “जुन पाइलटमाथि चक्कु प्रहार भएको थियो, उनी ढोकानजिकै परेकाले हाम्रा लागि ढोका खोल्न गाह्रो थियो।” तर उनी (स्मित मच्छर) ढल्नुअघि ढोका खोल्न सफल भएका थिए।
उनले भने, “म भित्र जाँदा आक्रमणकारीलाई दुवै सिटको बीचमा देखेँ। पाइलटहरू आफ्नो सिटमा थिएनन्।”
“एक जना भुइँमा ढलेका थिए भने अर्का उपकरणहरूनजिक थिए। मसँगै अर्का एक जना पनि भित्र छिरेका थिए। मैले आक्रमणकारीलाई समातेँ, उसको घाँटी अँठ्याएँ र सबैभन्दा पहिले उसलाई बाहिर तानेँ।”
यानिवका अनुसार, आक्रमणकारी “विमानलाई निष्क्रिय बनाउनका लागि त्यसका उपकरणहरू नष्ट गर्ने प्रयास गरिरहेको थियो।”
त्यसपछि उनले ‘विमानमा रहेका इजरायली मानिसहरूलाई गुहारे र सबैले मिलेर उसलाई थिचेर नियन्त्रणमा राखे।’
यानिवले आफूहरूले “विमानको नियन्त्रण आफ्नो हातमा लिएको” पनि बताए।
यानिवले नेतान्याहुलाई भने, “म ‘एयर क्र्याश इन्भेस्टिगेशन’ हेर्ने गर्छु। विमान विस्तारै सिधा हुन थाल्यो। त्यसपछि पाइलटले मलाई अब अगाडिबाट विमानको नियन्त्रण आफूले सम्हाल्ने बताए।”
अर्का यात्रु ज्विका मेनेसले आफूले आक्रमणकारीलाई नियन्त्रणमा लिन सहयोग गरेको बताए।
उनले आफू र अन्य दुई जनाले “आक्रमणकारीलाई उसैको जिप टाई र मल्टिमिडिया हेडफोनले बाँधिदिएको” बताए।
अर्का यात्रु ओरान कोएनले विमानस्थल बाहिर पत्रकारहरूसँग कुरा गर्दै विमानभित्र भएको घटना सायद पाँच मिनेटजति चलेको तर अत्यन्तै डरलाग्दो रहेको बताए।
उनले विमान तल खस्नुअघि आफूले “अल्लाहू अकबर” को आवाज सुनेको बताए। यो विमान अवतरण हुने तोकिएको समयभन्दा करिब एक घण्टाअघि भएको थियो। यद्यपि यो कुरा कसले भनेको थियो भन्नेबारे उनले खुलाएनन्।
उनले भने, “त्यस क्षण मलाई कस्तो महसुस भइरहेको थियो, त्यो म व्यक्त गर्न सक्दिनँ। म १८ वर्षको भएँ। त्यो धेरै गाह्रो क्षण थियो।”
उनले थपे, “सायद त्यो पाँच मिनेटको कुरा थियो, तर नरकजस्तै लागिरहेको थियो। मैले मेरो पछाडि मेरो भाइ चिच्याउँदै हामी मर्न लागेका छौँ भनेको सुनेँ।”
यो बताउँदा उनी भावुक भए र यसलाई “अत्यन्तै खराब क्षण” बताए।
समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै हाइम लाजारोविचले आफू आफ्नी श्रीमती र सानो छोरासँग विमानमा रहेको र आफूलाई ज्यानको डर लागेको बताए। उनले भने, “भगवानलाई धन्यवाद छ कि म जीवित छु।”
No ads found for this position



डिसी नेपाल
Facebook Comment