टेलिफोन र इन्टरनेटको गुणस्तर सुधार्न सञ्चारमन्त्री तिमिल्सिनाको प्राधिकरणलाई निर्देशन

डिसी नेपाल
१५ असोज २०८३ १५:१४

काठमाडौं। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले टेलिफोन तथा इन्टरनेट सेवाको गुणस्तर सुधार गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएका छन्।

बिहीबार प्राधिकरणका पदाधिकारीसँगको छलफलमा मन्त्री तिमिल्सिनाले काठमाडौं उपत्यकामै दूरसञ्चार सेवा कमजोर हुनु गम्भीर विषय भएको भन्दै नियमित अनुगमन गरी त्यसको प्रतिवेदन मन्त्रालयमा पेस गर्न निर्देशन दिएका हुन्। उनले तोकिएको मापदण्ड पूरा नगर्ने तथा न्यून गुणस्तरको सेवा उपलब्ध गराउने सेवा प्रदायकमाथि कानुनबमोजिम कडा कारबाही गर्नसमेत निर्देशन दिएका छन्।

मन्त्री तिमिल्सिनाले चौथो पुस्ताको मोबाइल सेवा विस्तार तथा पाँचौँ पुस्ताको सेवा सुरु गर्ने विषयमा स्पष्ट कार्ययोजना बनाएर अघि बढ्न पनि प्राधिकरणलाई निर्देशन दिएका छन्। छलफलमा प्राधिकरणका पदाधिकारीले गुणस्तर परीक्षणका लागि आवश्यक सवारीसाधन तथा उपकरणको अभाव रहेको जानकारी गराएका थिए। पूर्वाधार र सञ्जाल क्षमतामा पर्याप्त लगानी हुन नसक्दा पनि सेवाको गुणस्तरमा समस्या देखिएको उनीहरूको भनाइ थियो।

प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले गुणस्तर मापदण्ड पूरा नगर्ने सेवा प्रदायकमाथि कानुनअनुसार कारबाही र जरिवाना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले टेलिफोन तथा इन्टरनेट सेवाको नियमित अनुगमनलाई थप प्रभावकारी बनाउने बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *