फ्लाइदुबईको विमान नियन्त्रण गर्ने व्यक्ति पाइलट नै होइनन्
काठमाडौं । दुबईबाट तेल अभिभतर्फ जाँदै गरेको फ्लाईदुबईको उडानमा बुधवार बिहान ककपिटभित्र पाइलटहरूबिच झगडा भयो। ओमानका पाइलटले भारतीय पाइलट स्मित मच्छरमाथि चक्कु प्रहार गरे। त्यसपछि विमान तीव्र गतिमा तलतिर खस्न थाल्यो।
यस क्रममा यात्रु यानिभ हायुनले आक्रमणकारीलाई नियन्त्रणमा लिन र विमान सम्हाल्न मद्दत गरे। खास कुरा के छ भने, उनले विमान उडाउनका लागि कुनै पनि तालिम लिएका थिएनन्। उनले एउटा टीभी शो हेरेर विमानको कन्ट्रोल (नियन्त्रण प्रणाली) बारे जानकारी हासिल गरेका थिए।
यस घटनापछि उनी रगतले लतपतिएको कपडामै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई भेट्न पुगे। प्रधानमन्त्रीले उनको साहसको प्रशंसा गर्दै उनलाई ‘हिरो’ भनेका छन्। हायुनले इजरायली प्रधानमन्त्री नेतान्याहूलाई ककपिटबाट चिच्याएको आवाज सुनेको बताएका छन्। त्यसपछि उनी अर्का एक यात्रुको साथमा त्यहाँ पुगेका थिए।
ककपिटमा उनले भारतीय क्याप्टेन स्मित मच्छर घाइते अवस्थामा भुइँमा लडिरहेको देखे। उता आक्रमणकारी पाइलट भने विमान उडाइरहेका थिए। आक्रमणमा गम्भीर घाइते भए तापनि क्याप्टेन स्मित मच्छरले ककपिटको ढोका खोलिदिएको हायुनले बताए। त्यसपछि बाहिर रहेका यात्रुहरू भित्र पसेका थिए।
हायुनले आक्रमणकारीलाई समाते र कन्ट्रोल प्यानलबाट टाढा तानेर बाहिर निकाले। त्यसपछि उनले अन्य यात्रुहरूलाई मद्दतका लागि बोलाए। तीन जना यात्रुहरू मिलेर आक्रमणकारीलाई नियन्त्रणमा लिए र हेडफोनको तारले उनको हात बाँधिदिए।
आक्रमणकारीलाई नियन्त्रणमा लिएपछि हायुन पुनः ककपिटमा फर्किए। त्यस समय विमान तीव्र गतिमा तलतिर खसिरहेको थियो। विमान केही समयमै करिब १६,००० फिट तल आयो। यस क्रममा विमानको अवस्था अत्यन्तै गम्भीर बनेको थियो।
त्यसपछि हायुनले विमानको कन्ट्रोल समाते र त्यसलाई पछाडितर्फ ताने। यसले गर्दा विमानको अघिल्लो भाग (नोज) माथि उठ्न थाल्यो र विमानको अवस्था केही हदसम्म सम्हालियो।
हायुनले पछि बताए अनुसार उनलाई यो कुरा ‘एयर डिजास्टर्स’ नामको टीभी शोबाट थाहा भएको थियो। यो शो विमान दुर्घटना र त्यससँग सम्बन्धित मामिलाहरूमा आधारित छ। हायुनले शोमा विमान तलतिर खस्न थालेमा कन्ट्रोललाई पछाडि तान्नुपर्छ भन्ने देखेको बताएका छन्।
हायुनले विमानलाई केही बेर सम्हाले। त्यसपछि विमानमा रहेका एक रिजर्भ फ्लाईदुबई क्रूले अन्ततः विमानको कन्ट्रोल सम्हाले र त्यसलाई तबुकमा सुरक्षित अवतरण गराए।
आक्रमणमा घाइते भएका क्याप्टेन स्मित मच्छरलाई तबुक पुगेपछि अस्पताल लगियो। भारतीय दूतावासका अनुसार स्मित मच्छर तबुकको एक अस्पतालमा भर्ना छन् र उनको अवस्था स्थिर छ।
साउदी अधिकारीहरूले आक्रमणका आरोपी ओमानी सह-पाइलटलाई गिरफ्तार गरेका छन्। घटनाको पछाडि उनको उद्देश्य के थियो भन्ने कुरा अझै स्पष्ट हुन सकेको छैन।
फ्लाईदुबईले उडानका क्रममा ककपिटमा घटना भएको र विमानलाई सुरक्षित रूपमा तबुकमा अवतरण गराइएको जनाएको छ। कम्पनीले अनुसन्धान पूरा नभएसम्म मानिसहरूलाई घटनाको कारण र उद्देश्यका बारेमा अड्कलबाजी नगर्न आग्रह गरेको छ।
इजरायली अधिकारीहरूले पनि घटनाको अनुसन्धान सुरु गरेका छन्। घटनापछि इजरायलले पाइलटहरूको सुरक्षा जाँच अझ कडा पार्ने बताएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment