पाँच वर्षको कार्यकाल मंसिरमा सकिने भन्दै देउवाले बुझाए महाधिवेशनको कार्यतालिका

डिसी नेपाल
१५ असोज २०८३ १८:१६

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले समानान्तर रूपमा आयोजना गर्न लागेको १५औं महाधिवेशनको विस्तृत कार्यतालिका निर्वाचन आयोगमा बुझाएको छ।

कांग्रेस सभापतिको हैसियतमा शेरबहादुर देउवाले हस्ताक्षर गरी पठाएको उक्त कार्यतालिकासहितको पत्रलाई आयोगले असोज १३ गते दर्ता गरेर फाइल खडा गरी अभिलेख राख्न सोही दिन तोकादेश गरिसकेको छ।

देउवाले प्रमुख निर्वाचन आयुक्तलाई सम्बोधन गर्दै महाधिवेशनको जानकारी तथा अभिलेखीकरणका लागि पेस गरेको पत्रअनुसार २०८३ साल मङ्सिर २१ देखि २३ गतेसम्म काठमाडौँमा १५औँ केन्द्रीय महाधिवेशन आयोजना गरिने भएको छ।

आयोगमा पेस गरिएको पत्रमा १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पाँच वर्षको कार्यकाल विधानबमोजिम थप गरिएको अवधिसहित २०८३ साल मङ्सिर मसान्तमा समाप्त हुने उल्लेख छ। सोही संवैधानिक तथा वैधानिक व्यवस्थालाई ध्यानमा राख्दै तल्लो तहदेखि केन्द्रसम्मको अधिवेशन कार्यतालिका तय गरिएको जानकारी आयोगलाई गराइएको छ।

स्वीकृत कार्यतालिकाअनुसार तल्लो तहको अधिवेशनअन्तर्गत २०८३ साल असोज १५ गते वडा अधिवेशन गरिनेछ भने असोज २० गते गाउँ तथा नगरपालिका अधिवेशन सम्पन्न गरिनेछ।

त्यसै गरी असोज २३ गते प्रदेश सभा क्षेत्रीय तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र कात्तिक १५ गते जिल्ला अधिवेशन आयोजना गर्ने तय गरिएको छ। सातै प्रदेशको प्रदेश अधिवेशन २०८३ मङ्सिर ४ गतेका लागि तोकिएको छ भने अन्तिम चरणमा मङ्सिर २१, २२ र २३ गते काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका बुझाइएको छ।

देउवा समूहले बुझाएको पत्रमा निर्वाचन आयोगको यसअघिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर भएको मुद्दामा पुनरावलोकनको अनुमति प्राप्त भइसकेको र हाल उक्त विषय अदालतमा विचाराधीन अवस्थामा रहेकोसमेत खुलाइएको छ। महाधिवेशन सम्पन्न भएपछि निर्वाचित केन्द्रीय कार्यसमिति र प्रदेश कार्यसमितिको नामावली कानुनबमोजिम अद्यावधिकका लागि पुनः आयोगमा पेस गरिने जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *