जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यानका इलेक्ट्रिक प्राइम मुभर र टिपर, मूल्य २ करोड ५ लाखदेखि

डिसी नेपाल
१६ असोज २०८३ १३:५२

काठमाडौं। शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा स्याकम्यान X5000e ६×४ इलेक्ट्रिक प्राइम मुभर र स्याकम्यान X5000e ६×४ इलेक्ट्रिक टिपर नेपाली बजारमा सार्वजनिक गरेको छ। यससँगै स्याकम्यानले नेपालको तीव्र रूपमा विस्तार हुँदै गएको विद्युतीय हेभी–ड्युटी व्यावसायिक सवारीसाधन क्षेत्रमा औपचारिक प्रवेश गरेको छ।

व्यावसायिक क्षेत्रका चुनौतीपूर्ण आवश्यकतालाई ध्यानमा राखेर विकास गरिएको X5000e इलेक्ट्रिक प्राइम मुभर भारी सामान ढुवानी तथा लामो दूरीको यातायातका लागि उपयुक्त मानिएको छ। त्यसैगरी X5000e इलेक्ट्रिक टिपर निर्माण, खानी तथा अन्य चुनौतीपूर्ण अफ–रोड सञ्चालनका लागि विशेष डिजाइन गरिएको कम्पनीले जनाएको छ।

दुवै मोडलमा आधुनिक इलेक्ट्रिक पावरट्रेन र ६×४ ड्राइभट्रेनका साथै फास्ट चार्जिङ क्षमता, रिजेनेरेटिभ ब्रेकिङ तथा इन्टेलिजेन्ट ब्याट्री व्यवस्थापन प्रणाली जस्ता प्रविधिहरू समावेश छन्। यी प्रविधिले चुनौतीपूर्ण व्यावसायिक परिस्थितिमा सवारीसाधनको प्रभावकारी र भरपर्दो सञ्चालनमा सहयोग पुर्‍याउने विश्वास लिइएको छ।

स्याकम्यानसँगको साझेदारीले नेपालमा अत्याधुनिक विद्युतीय मोबिलिटी समाधानहरू ल्याउने कम्पनीको प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको शंकर ग्रुपकी निर्देशक दीपा अग्रवालले बताइन्। आगामी दिनमा यस सहकार्यलाई थप विस्तार गर्दै व्यावसायिक यातायात क्षेत्रमा थप अवसरहरू सिर्जना गर्न आफूहरू तत्पर रहेको उनको भनाइ थियो।

त्यसैगरी, सान्क्सी अटोमोबाइल होल्डिङ ग्रुपका साउथ एसिया जनरल म्यानेजर स्यान्डर्स लीले नेपाल विद्युतीय हेभी–ड्युटी सवारीसाधनका लागि ठूलो सम्भावनायुक्त बजार रहेको उल्लेख गरे।

शंकर ग्रुप र जगदम्बा मोटर्ससँगको साझेदारीमार्फत नेपाली बजारमा भरपर्दो र प्रविधिमा आधारित हेभी–ड्युटी समाधानहरू ल्याउने मुख्य लक्ष्य रहेको उनले स्पष्ट पारे।

स्याकम्यान X5000e का दुवै मोडलमा उत्कृष्ट विद्युतीय पावरट्रेन प्रविधिसँगै चालकको आराम र सञ्चालन प्रभावकारितालाई ध्यानमा राख्दै एयर–सस्पेन्डेड सिट, मल्टिफङ्सन स्टेयरिङ, एयर कन्डिसनिङ तथा ठूलो इन्स्ट्रुमेन्ट डिस्प्लेलगायतका सुविधाहरू उपलब्ध गराइएको छ।

जगदम्बा मोटर्सका एक्जेक्युटिभ डिरेक्टर अखिल गुप्ताले नेपालको यातायात, निर्माण तथा औद्योगिक क्षेत्रका बदलिँदा आवश्यकताहरूलाई सम्बोधन गर्ने विद्युतीय हेभी–ड्युटी समाधान उपलब्ध गराउन पाउँदा उत्साहित भएको बताएका छन्।

बजार मूल्यअनुसार स्याकम्यान X5000e ६×४ इलेक्ट्रिक प्राइम मुभरको मूल्य २ करोड ५ लाख रुपैयाँ र स्याकम्यान X5000e ६×४ इलेक्ट्रिक टिपरको मूल्य २ करोड ३५ लाख रुपैयाँ कायम गरिएको छ। यी दुई मोडलको आगमनसँगै जगदम्बा मोटर्सले आफ्नो व्यावसायिक सवारीसाधन पोर्टफोलियोलाई विद्युतीय हेभी–ड्युटी सेग्मेन्टमा विस्तार गरेको छ।

नेपालमा व्यावसायिक तथा अटोमोटिभ उत्पादनहरूको वितरण गर्दै आएको जगदम्बा मोटर्स र ६० वर्षभन्दा लामो इतिहास बोकेको चीनको प्रमुख हेभी–ड्युटी व्यावसायिक सवारीसाधन निर्माता स्याकम्यानबीचको यो साझेदारीले नेपालको औद्योगिक तथा निर्माण क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *