सभामुख अर्याल र राष्ट्रपति पौडेलबीच शिष्टाचार भेट
काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन्।
भेटका क्रममा सभामुख अर्यालले अन्तरव्यवस्थापिका संघको १५३औँ महासभामा सहभागी हुन आफू आइतबार तान्जानिया प्रस्थान गर्न लागेको जानकारी राष्ट्रपतिलाई दिएका थिए।
अन्तरव्यवस्थापिका संघको १५३औँ महासभा अक्टोबर ५ देखि ९ सम्म तान्जानियाको अरुसास्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुँदैछ। महासभाको मुख्य विषय ‘समावेशिता, विश्वास र सबैका लागि अवसरमार्फत सुशासन सुदृढीकरण तथा समुदायको सशक्तीकरण’ रहेको छ।
महासभामा संघका शासकीय परिषद्सहित सबै प्रमुख निकाय, स्थायी समिति, संसद् सदस्यको मानवअधिकारसम्बन्धी समिति, मध्यपूर्व मामिला समिति तथा महिला र युवा सांसदका मञ्चको बैठक हुनेछ। महासभाका क्रममा शासकीय परिषद्ले नयाँ अध्यक्षसमेत चयन गर्ने कार्यक्रम रहेको छ।
महासभामा सहभागी प्रतिनिधिहरूले समावेशी विकास, सुशासन, लोकतन्त्र र समुदाय सशक्तीकरणका विषयमा छलफल गर्नेछन्। अपांगता भएका व्यक्तिको अधिकार तथा सशक्तीकरणका लागि संसदीय रणनीतिसम्बन्धी प्रस्ताव पनि पारित हुने अपेक्षा गरिएको छ। महासभाले समग्र छलफलको निष्कर्षका रूपमा एक दस्तावेजसमेत पारित गर्नेछ।
अन्तरव्यवस्थापिका संघ विश्वभरका राष्ट्रिय संसद्हरूको साझा संस्था हो। सन् १८८९ मा स्थापना भएको संघमा हाल १८३ सदस्य संसद् र १५ सहयोजक सदस्य रहेका छन्। संघले संसदीय कूटनीति, शान्ति, लोकतन्त्र र दिगो विकास प्रवर्द्धनमा संसद् तथा सांसदहरूलाई सहजीकरण गर्दै आएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment