राजनीतिक नेतृत्वको कमजोरी र प्रशासनिक हठले वायुसेवा निगम थला पर्‍यो : सांसद उप्रेती

डिसी नेपाल
१६ असोज २०८३ १५:२७

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद प्रशान्त उप्रेतीले राजनीतिक नेतृत्वमा जोखिम लिने क्षमता अभाव र प्रशासनिक हठका कारण राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम थला परेको बताएका छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको शुक्रबार बसेको बैठकमा बोल्दै उनले नेपाल वायुसेवा निगमलाई अस्पष्ट अवस्थामा राखेर राष्ट्रिय गौरव फर्काउन नसकिने स्पष्ट पारेका हुन् ।

निगमलाई तत्काल कम्पनी ऐनअन्तर्गत लैजान र स्वायत्त बनाउन उनले सरकारसँग आग्रह गरे । नेपाल एयरलाइन्सको औचित्यमाथि नै प्रश्न उठाउँदै सांसद उप्रेतीले संस्थालाई व्यावसायिक रूपमा अगाडि बढाउनुपर्ने वा यसको ढाँचा नै फेर्नुपर्नेमा जोड दिए।

निगमको दुर्दशा हुनुमा राजनीतिक नेतृत्वको जोखिम लिने क्षमताको अभाव र प्रशासनिक हठ मुख्य कारक रहेको उनको भनाइ थियो । मन्त्री र सरकारी निकायले नै समितिमा आएर निगमको असफलताको गुनासो गर्नु हास्यास्पद रहेको भन्दै उनले कटाक्ष गरे।

उपलब्ध स्रोत र साधनको अधिकतम प्रयोग गर्न नसक्नु, जहाज ग्राउन्डेड हुनु र व्यवस्थापकीय अक्षमताले निगम थलिएको उल्लेख गर्दै उनले भने, ‘नेपाल वायुसेवा निगमको औचित्य स्पष्ट हुनुपर्छ। राष्ट्रिय ध्वजावाहक भएकाले भावनात्मक पक्ष महत्त्वपूर्ण भए पनि यो अन्ततः व्यावसायिक संस्था भएकाले व्यावसायिक रूपमै सञ्चालन हुनुपर्छ। निगममा निरन्तर राजनीतिक हस्तक्षेपभन्दा स्वायत्त र व्यावसायिक व्यवस्थापन आवश्यक छ।’

उनले निगमलाई कम्पनी ऐनअन्तर्गत लैजाने, रणनीतिक साझेदार वा निजी क्षेत्रको सहभागिताबारे स्पष्ट नीति बनाउने र आवश्यक कानुनी सुधार गर्ने विषयमा गम्भीर बहस हुनुपर्ने बताए। जहाज खरिद, सार्वजनिक खरिदका प्रावधान, अदालतमा रहेका मुद्दा तथा प्रशासनिक अवरोधले निर्णय प्रक्रियामा असर पारेकाले सक्षम नेतृत्वलाई आवश्यक अधिकार, पारिश्रमिक र निर्णय गर्ने स्वतन्त्रता दिनुपर्ने उनको जोड थियो।

संस्थाको प्रमुख (महाप्रबन्धक) चयनमा योग्यता र क्षमतालाई मुख्य आधार बनाउनुपर्ने बताउँदै उनले आवश्यकता परे योग्य विदेशी महाप्रबन्धक ल्याउनसमेत पछि हट्न नहुने धारणा राखे। आफन्तवाद र राजनीतिक प्रभावले निगमको व्यावसायिकतामा धक्का पुर्‍याइरहेको भन्दै यस्तो अवस्थाको अन्त्य नभएसम्म राष्ट्रिय ध्वजावाहकको साख फर्कन नसक्ने उनले दाबी गरे।

सरकारले आफ्नो नियन्त्रण क्रमशः घटाउँदै निगमको व्यवस्थापनलाई स्वायत्त, सक्षम र जबाफदेही बनाउनुपर्नेमा उनले जोड दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *