कारमा लुकाएर लैजाँदै गरेको १५५ किलो गाँजासहित चालक पक्राउ
बारा । बाराको जितपुर–सिमरा उपमहानगरपालिका–८ इमलिप्रतिबाट प्रहरीले १५५ किलोभन्दा बढी लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको विशेष प्रहरी टोलीले शंकास्पद रूपमा मनहरीबाट वीरगन्जतर्फ जाँदै गरेको बा १३ च ४७३४ नम्बरको कारलाई रोक्न खोजेको थियो। तर चालकले प्रहरीको संकेत बेवास्ता गर्दै कार भगाएपछि प्रहरीले पिछा गरेको थियो।
पिछा गर्ने क्रममा प्रहरीले जितपुर–सिमरा–८ इमलिप्रतिस्थित कृष्ण फ्याक्ट्री अगाडिबाट कारलाई नियन्त्रणमा लिएको हो।
कार खानतलासी गर्दा रातो प्लास्टिकमा बेरेर लुकाइछिपाई राखिएको अवस्थामा १५५ किलो ६३५ ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
गाँजासहित पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका–१ निवासी करिब २८ वर्षीय अम्बिर डिम्डुङ रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment