जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी

डिसी नेपाल
१६ असोज २०८३ २०:५७

रुपन्देही। नेपाल सरकारका सङ्घीय कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले माटोको उर्वराशक्ति जोगाउन र कृषि उत्पादनलाई दिगो बनाउन किसानले जैविक तथा प्राङ्गारिक मलको प्रयोग बढाउनुपर्ने बताएका छन्।

लुम्बिनी प्रदेशस्तरीय अनुदानित मल वितरण सूचना प्रणालीसम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले रासायनिक मलको अत्यधिक प्रयोगले माटोको गुणस्तरमा असर पर्ने भएकाले माटो सुधारलाई प्राथमिकतामा राखि कृषि नीति र कार्यक्रम अघि बढाइने छ भने।

मन्त्री चौधरीले भने, ‘पहिले किसानले गोठको मल, घरबाट निस्कने कुहिने तथा जैविक फोहर खेतबारीमै प्रयोग गर्थे। अहिले स्थानीय तहले फोहर व्यवस्थापनका क्रममा प्लास्टिकसँगै कुहिने जैविक फोहरसमेत डम्पिङस्थलमा लैजाने गरेका छन्। प्लास्टिक फोहर व्यवस्थापन आवश्यक भए पनि जैविक पदार्थलाई छुट्याएर मलका रूपमा प्रयोग गर्नुपर्छ।’

अन्तरराष्ट्रियस्तरमा सामान्य समस्या आउँदा पनि नेपालमा मल आपूर्तिमा समस्या हुने गरेको प्रसङ्ग उल्लेख गर्दै मन्त्री चौधरीले स्वदेशमै रासायनिक तथा जैविक मल उत्पादन गर्ने उद्योग स्थापनाको आवश्यकता औँल्याए।

उनले देशको आवश्यकता, उपलब्धता र उत्पादन क्षमताको यथार्थ तथ्याङ्क तयार गरी मलको दीर्घकालीन व्यवस्थापन गर्न सरकार लागिरहेको बताए।

मन्त्री चौधरीले रासायनिक मलको सन्तुलित वितरणका लागि स्थानीय तह, प्रहरी र जिल्ला प्रशासन कार्यालयलाई प्रभावकारी अनुगमन गर्न सुझाव दिए। उनले भने, ‘किसानले आवश्यक परेको समयमा मल पाउनुपर्छ। मल वितरणमा कुनै पनि किसिमको कमी–कमजोरी गर्न पाइँदैन।’

सरकारको प्राथमिकता नीति निर्माणलाई समयानुकूल बनाउनु रहेको उल्लेख गर्दै उनले कृषि सामग्री तथा मल वितरणमा पनि पारदर्शिता कायम गर्न सुझाव दिए।

हालसम्म करिब २७ लाख किसान कार्डका लागि सूचीकृत भइसकेको जानकारी दिँदै उहाँले बाँकी किसानलाई पनि सूचीकृत हुन आग्रह गरे।

सो अवसरमा स्थानीय तहका कृषि शाखा प्रमुख तथा कर्मचारी, मल विक्रेता र किसानसँग अनुदानित मल वितरण प्रणालीमा देखिएका समस्या, डिजिटल सूचना प्रणाली तथा कृषि क्षेत्रमा आवश्यक सुधारका विषयमा गहन छलफल भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *